आगामी निर्वाचन तयारीका लागि नेपाललाई भारतले प्रदान गरेको तेस्रो चरणको सहयोग काठमाडौंमा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

१२ फेब्रुअरी २०२६ मा गृह मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओम प्रकाश अर्याललाई उक्त सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो। नेपाल सरकारले निर्वाचन व्यवस्थापनका लागि अनुरोध गरेको सहयोगअनुसार २७० भन्दा बढी सवारीसाधन तथा अन्य सामग्री उपलब्ध गराइएको छ।

यस सहयोगअन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रक पनि समावेश छन्। ती ट्रकहरू राजदूत श्रीवास्तवबाट नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा गृहमन्त्री अर्यालले समयानुकूल र महत्वपूर्ण सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नेपाल–भारत सम्बन्ध आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्यप्रति साझा प्रतिबद्धतामा आधारित रहेको उल्लेख गर्नुभयो।
यसअघि २० जनवरी र २९ जनवरी २०२६ मा निर्वाचनसम्बन्धी सहयोगका पहिलो दुई चरणमा ३१० भन्दा बढी सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण भइसकेका छन्। बाँकी सहयोग सामग्री आगामी दिनमा चरणबद्ध रूपमा उपलब्ध गराइने जानकारी दिइएको छ।
यस सहयोगलाई दुई देशबीच रहेको बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारीको निरन्तरता रूपमा हेरिएको छ। निर्वाचन नजिकिँदै जाँदा यस प्रकारको सहयोगले व्यवस्थापन पक्षलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।