डोटी जिल्लाको बडीकेदार गाउँपालिकामा रहेको केदार सूर्य बहुमुखी क्याम्पसको नवनिर्मित दुई तल्ले भवनको आज संयुक्त रूपमा उद्घाटन गरिएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष श्री भैरव बहादुर साउदले संयुक्त रूपमा उक्त पूर्वाधारको उद्घाटन गर्नुभएको हो।

भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्मित यस क्याम्पस भवनमा प्रत्येक तलामा ७ वटा कोठा र अन्य आवश्यक सुविधाहरू रहेका छन्। पूर्व नाम श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेको यस शैक्षिक संस्थाको नयाँ भवन बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा हाल ब्याचलर अफ एजुकेसन र ब्याचलर अफ बिजनेस स्टडिज कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, क्याम्पस व्यवस्थापन र स्थानीय सरोकारवालाहरूले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ पूर्वाधारले यस क्षेत्रको शैक्षिक स्तर सुधारमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना सुरु भएयता भारत सरकारले नेपालका ७ वटै प्रदेश र ७४ जिल्लाहरू समेट्ने गरी करिब ६०० वटा परियोजना अघि बढाएको छ। जसमध्ये सुदूरपश्चिम प्रदेशमा ४७ वटा परियोजना रहेका छन् भने डोटी जिल्लामा मात्रै ४ वटा परियोजना र एम्बुलेन्स तथा स्कुल बस सहयोग उपलब्ध गराइएको छ।

घनिष्ठ छिमेकीका रूपमा रहेको भारत र नेपालबीचको बहुक्षेत्रीय सहकार्यले प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकास गर्न ठूलो मद्दत पुर्‍याएको छ। यस किसिमको निरन्तर सहयोगले समृद्धिको दिशामा अघि बढ्ने नेपाल सरकारको प्रयासलाई थप सुदृढ बनाउन सकारात्मक भूमिका खेल्ने देखिन्छ।