भारतीय सेनाका थलसेनाध्यक्ष जनरल धीरज सेठले सन् २०२६ अगस्ट १६ देखि १९ सम्म नेपालको चार दिने औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ। भ्रमणका क्रममा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई सुदृढ बनाउनुका साथै रक्षा र सुरक्षाका क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने विषयमा छलफल भएको छ। अगस्ट १६ मा काठमाडौँ आइपुग्नुभएका जनरल सेठलाई नेपाली सेनाका वरिष्ठ अधिकारीहरू र काठमाडौँस्थित भारतीय दूतावासका प्रतिनिधिहरूले स्वागत गरेका थिए।

भ्रमणको दोस्रो दिन अगस्ट १७ मा जनरल सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा माल्यार्पण गरी वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। त्यसपछि नेपाली सेनाको मुख्यालय पुग्नुभएका उहाँलाई गार्ड अफ अनर प्रदान गरिएको थियो। सोही क्रममा उहाँले नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलसँग द्विपक्षीय रक्षा सहकार्य विस्तारका विषयमा छलफल गर्नुका साथै विपद् व्यवस्थापन तथा मानवीय सहायता क्षमता अभिवृद्धिका लागि सवारी साधन र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो।

वर्षौँदेखि चलिआएको परम्पराअनुसार शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको थियो। दर्ज्यानी चिन्ह प्रदान गरिएपछि जनरल सेठले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नुभएको थियो।

ADVERTISEMENT Xtreme - Inside

अगस्ट १८ मा जनरल सेठले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी शिक्षार्थी तथा प्राध्यापकहरूसँग अन्तरक्रिया गर्नुभएको थियो। त्यसपछि उहाँले सम्माननीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरी दुई देशबीचको दीर्घकालीन साझेदारी र विशेष गरी रक्षा सहकार्यका विषयमा छलफल गर्नुभयो।

भ्रमणको अन्तिम दिन अगस्ट १९ मा जनरल सेठले पोखरा पुगेर भारतीय सेनाका भूतपूर्व सैनिकहरूसँग अन्तरक्रिया गर्नुभयो। सो अवसरमा वीर नारी तथा वीरता पुरस्कार विजेताहरूलाई सम्मान गरिनुका साथै पूर्वसैनिकहरूलाई गतिशीलता उपकरण वितरण गरिएको थियो। साथै उहाँले कोहलपुरमा स्थापना गरिएको भूपू सैनिक योगदानमा आधारित स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको उद्घाटन गरी पूर्वसैनिक तथा तिनका आश्रित परिवारका लागि स्वास्थ्य सेवा समर्पित गर्नुभयो।

यस उच्चस्तरीय भ्रमणले भारत र नेपालबीचको सैन्य सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आगामी दिनमा रक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।