काठमाडौँस्थित भारतीय दूतावासमा १५ अगस्ट २०२६ मा नेपालमा रहेका भारतीय समुदाय, नेपालका मित्रहरू तथा दूतावासका अधिकारी र तिनका परिवारको सहभागितामा भारतको ८० औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाइएको छ।
कार्यक्रमको सुरुआत 'वन्दे मातरम्' गायनबाट भएको थियो, त्यसपछि नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झण्डा उत्तोलन गर्नुका साथै राष्ट्रिय गान गाइएको थियो। सो अवसरमा भारतकी सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले ८० औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिनुभएको सम्बोधनको प्रसारणसमेत प्रस्तुत गरिएको थियो।

सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका दिवंगत ११ जना कर्मचारीका एकल महिला तथा निकटतम नातेदारलाई सम्मान गर्दै कुल ८.२ करोड नेपाली रुपैयाँ बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फण्ड (AGIF) को चेक हस्तान्तरण गर्नुभयो।
यसैगरी राजदूतले दूतावासद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कृत गर्नुभयो। सम्मानित हुनेहरूमा 'विकसित भारत' विषयक चित्रकला प्रतियोगिता, विकसित भारत रन, अन्तरविद्यालय क्विज प्रतियोगिता र 'भारत को जानिए' क्विजको विशेष संस्करणका विजेताहरू रहेका छन्।

शैक्षिक स्रोतसाधनमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ दूतावासले नेपालका सातै प्रदेशमा फैलिएका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयहरूका लागि पुस्तक अनुदानको समेत घोषणा गरेको छ।
दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूद्वारा प्रस्तुत देशभक्तिपूर्ण गीत एवं सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न यस समारोहले दुई देशबीचको सांस्कृतिक सम्बन्ध र सद्भावलाई निरन्तरता दिएको छ।