थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउने सरकारको अन्तिम तयारी भइरहँदा यस क्षेत्रको अर्को यथार्थ बाहिर आएको छ। बाहिरबाट हेर्दा वर्षौंदेखि जरा गाडेर बसेको स्थायी अतिक्रमण जस्तो देखिए पनि, भित्र भने क्रिस्चियन धर्मावलम्बीहरूको बाक्लो उपस्थिति र छुट्टै प्रणाली सञ्चालनमा रहेको पाइएको छ। यस बस्तीभित्र चर्च स्थापना गरिएको छ र यहाँ मुख्यगरी इसाई धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ।

प्राप्त जानकारीअनुसार यो बस्ती स्थायी बसोबासको थलो मात्र नभई एउटा 'ट्रान्जिट' वा अस्थायी आश्रयस्थलको रूपमा प्रयोग हुँदै आएको छ। नेपालका विभिन्न क्षेत्रका गरिब तथा विपन्न नागरिकहरूलाई ल्याएर यस बस्तीमा राखिन्छ। यहाँ ल्याइएका मानिसहरूलाई विभिन्न सहयोग र मार्गदर्शन प्रदान गरी आत्मनिर्भर बनाउने प्रयास गरिन्छ। उनीहरू आफ्नो खुट्टामा उभिन सक्ने अर्थात् आत्मनिर्भर बनिसकेपछि बस्तीबाट बिदा गरी समाजमा पठाइन्छ। एउटा समूहलाई समाजमा पुन:स्थापना गरिसकेपछि सोही खाली ठाउँमा फेरि अरू नयाँ विपन्न मानिसहरूलाई ल्याएर राखिन्छ।

गरिबलाई आश्रय दिएर आत्मनिर्भर बनाई समाजमा पठाउने यो चक्र लामो समयदेखि निरन्तर चलिरहेको छ। यसकारण यस क्षेत्रमा अधिकांश मानिसहरू स्थायी रूपमा भन्दा पनि अस्थायी रूपमा मात्र बस्ने गरेका छन्। विगतमा यसै बस्तीमा आश्रय लिएर आत्मनिर्भर बन्दै हाल काठमाडौँका विभिन्न स्थानमा छरिएर बसोबास गर्ने मानिसहरूको संख्या उल्लेख्य रहेको छ।