काठमाडौंको ऐतिहासिक तथा धार्मिक पहिचानको रूपमा रहेको कुमारी वहाल (कुमारी घर) लाई आगामी वर्षायामको सम्भावित क्षतिबाट जोगाउन काठमाडौं महानगरपालिकाले छाना मर्मतको कामलाई तीव्रता दिएको छ।

गत वर्षको बर्खामा छानाबाट पानी चुहिएको समस्या देखिएपछि बिहीबार वसन्तपुर पुगेर महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जीर्णोद्धार कार्यको प्रत्यक्ष अनुगमन गर्नुभयो। उहाँले मनसुन सुरु हुनु अगावै निर्माणको सम्पूर्ण काम सम्पन्न गरी धरोहरलाई सुरक्षित गर्न ठेकेदार कम्पनीलाई कडा निर्देशन दिनुभएको छ।

कुमारी घरलाई काठमाडौंको 'अनुहार' को संज्ञा दिँदै डंगोलले यसको मर्मत सम्भारमा महानगरले विशेष चासो राखेको स्पष्ट पार्नुभयो। छाना चुहिने समस्याको प्राविधिक पक्ष अध्ययन गर्न महानगरले गत साउन २ गते नै एक समिति गठन गरेको थियो।

बोलपत्र प्रक्रियामार्फत छनोट भएको 'अजय निर्माण सेवा' सँग फागुन ११ गते सम्झौता भई फागुन २५ देखि भौतिक रूपमा मर्मतको काम अघि बढेको हो। अनुगमनका क्रममा डंगोलले निर्माण व्यवसायीसँग छलफल गर्दै महानगरको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले मर्मत कार्यले कुमारी घरको परम्परागत, सांस्कृतिक र धार्मिक मूल्यमान्यतामा कुनै पनि नकरात्मक असर पर्न नहुने कुरामा जोड दिनुभयो।

यसैगरी, कार्यवाहक प्रमुख डंगोलले न्यूरोडमा निर्माणाधीन महानगरको वरुणयन्त्र (दमकल) कार्यालयको पनि निरीक्षण गर्दै तोकिएकै समयसीमाभित्र पुनर्निर्माण सक्न निर्देशन दिनुभएको छ।

तत्कालको लागि छाना मर्मतको काम सकिएपछि यस ऐतिहासिक स्थलसँग जोडिएका अन्य सामाजिक र धार्मिक गतिविधिहरूलाई थप व्यवस्थित रूपमा अगाडि बढाउने महानगरको योजना रहेको छ।