काठमाडौँ। आफूलाई भगवान् विष्णुको अन्तिम अवतार ‘कल्कि’ दाबी गर्ने जय शाहले मुलुकमा व्याप्त खाना पकाउने एलपीजी ग्यासको अभाव अन्त्य गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई महत्वपूर्ण सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले आयातित एलपीजी ग्यासको विकल्पका रूपमा स्वदेशमै उखु र जैविक वस्तुबाट उत्पादित इथानोल प्रयोग गर्न सकिने नवीन अवधारणा अघि सारेका हुन्।

नेपालले हरेक वर्ष अर्बौँ रुपैयाँ बराबरको एलपीजी ग्यास आयात गर्दै आएको सन्दर्भमा जय शाहले स्वदेशी उखु र मोलासिस (सखर) बाट इथानोल उत्पादन गरी खाना पकाउने इन्धनका रूपमा प्रयोग गर्न सकिने बताएका छन्। उनका अनुसार उखुबाट मोलासिस र चिनी हुँदै इथानोल उत्पादन गर्ने र त्यसलाई विशेष रूपमा निर्मित इथानोल चुलोमा प्रयोग गर्न सकिन्छ। चुलोको कार्यक्षमताका आधारमा झण्डै ३२ देखि ३८ लिटर इथानोलले १४.२ किलोको एउटा एलपीजी ग्यास सिलिन्डर बराबरको ऊर्जा दिने उनको दाबी छ।

ADVERTISEMENT Max Tiger Dashain Ad

यस नीतिलाई अवलम्बन गर्दा आयातित ग्यासमाथिको निर्भरता घट्नुका साथै उखु किसान र स्थानीय चिनी तथा इथानोल उद्योगहरूले नयाँ बजार पाउनेछन्। यसले इन्धन खरिदबापत बाहिरिने ठूलो धनराशी देशभित्रै रोक्न, नेपाली किसानको आम्दानी बढाउन र नवीकरणीय कृषि स्रोतको अधिकतम उपयोग गर्न सहयोग पुग्ने सन्देशमा उल्लेख छ।

तथापि, आम उपभोक्ताले एलपीजी वा मट्टितेलको सामान्य चुलोमा इथानोल वा सर्जिकल स्प्रिट प्रयोग गर्न नमिल्ने र यसका लागि विशेष रूपमा प्रमाणित इथानोल चुलो नै आवश्यक पर्ने भन्दै उनले प्राविधिक सजगता अपनाउन आग्रह गरेका छन्। देशभित्रै इन्धन उत्पादनको प्रचुर सम्भावना हुँदाहुँदै विदेशी एलपीजी ग्यासमा निर्भर रहनुपर्ने बाध्यता अन्त्यका लागि ठोस कदम चाल्न उनले प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन्।