मिसन स्माइल नेपालले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको पशुपतिनाथ प्राङ्गणमा दीप प्रज्वलन तथा लाखबत्ती बालेर दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। संस्थाले हालैको बाढी तथा पहिरोमा ज्यान गुमाउनुभएका नागरिकहरू, जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका युवाहरू तथा सम्पूर्ण शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरेको हो।

कार्यक्रममार्फत संस्थाले दिवंगत सबैप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको सम्झनालाई न्याय, समानता, मानवअधिकार र मानवीय सेवाको निरन्तरतासँग जोडेको जनाएको छ।
मिसन स्माइल नेपाल सन् २०१७ मा स्थापना भएको संस्था हो, जसले महिला, बालबालिका, युवा तथा सीमान्तकृत समुदायका अधिकार र सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाकी अध्यक्ष जस्मिन ओझाले ९ वर्षको यात्रा सेवा, सहकार्य र सामाजिक न्यायप्रतिको प्रतिबद्धताको यात्रा भएको बताउँदै आगामी दिनमा पनि सोही उद्देश्यका साथ कामलाई निरन्तरता दिने बताइन्।
यस स्मृति कार्यक्रमले सामाजिक सेवालाई नागरिक अधिकार र सामुदायिक कल्याणसँग जोड्ने संस्थाको निरन्तर प्रयासलाई थप उजागर गरेको छ।