मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका-७, गोठगाउँस्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नयाँ भवनको २०८३ असोज २० (६ अक्टोबर २०२६) गते संयुक्त रूपमा उद्घाटन गरिएको छ। कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिकमत कुमार कार्की, काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले उक्त भवनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) अन्तर्गत यस भवनको निर्माण गरिएको हो।

यो परियोजना सुन्दरहरैँचा नगरपालिकामार्फत कार्यान्वयन गरिएको थियो। उद्घाटन समारोहमा मुख्यमन्त्री कार्की तथा अन्य सरोकारवालाहरूले भारत सरकारले पुर्याउँदै आएको विकास सहयोगको सराहना गर्नुभएको छ। नयाँ पूर्वाधारले सुन्दरहरैँचा नगरपालिकाका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइ वातावरण अभिवृद्धि गर्न सहयोग पुर्याउने उहाँहरूले बताउनुभयो।

ADVERTISEMENT Max Tiger Dashain Ad

एचआइसीडीपी कार्यक्रम सुरु भएयता भारत सरकारले नेपालका सबै ७ प्रदेश र ७४ जिल्ला समेट्ने गरी ६०५ वटा परियोजनाहरू अघि बढाएको छ। जसमध्ये कोशी प्रदेशमा १०३ वटा परियोजनाहरू रहेका छन् भने मोरङ जिल्लामा मात्र १७ वटा परियोजनाहरू सञ्चालित छन्। यसबाहेक भारत सरकारले कोशी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरूलाई १५० वटा एम्बुलेन्स र ६२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ, जसमा मोरङ जिल्लामा मात्र २१ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस समावेश छन्।

नेपाल र भारतबीचको यो घनिष्ठ छिमेकी साझेदारीले प्राथमिकता प्राप्त क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै स्थानीय समुदायको वृद्धि र विकासमा निरन्तर योगदान पुर्याउने अपेक्षा गरिएको छ।