नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारलाई कडा चुनौती दिँदै आफू काठमाडौं फर्किंदै गरेको घोषणा गरेका छन्। प्रहरीले आफ्नो खोजी गरिरहेको खबरहरू बाहिरिएपछि सहमहामन्त्री शिवाकोटीले सामाजिक सञ्जालमार्फत सरकारप्रति आक्रोश व्यक्त गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रहरी प्रशासन लगाएर आफूलाई नियन्त्रणमा लिने वा खोजी गर्ने प्रयास भइरहेको सन्दर्भलाई लक्षित गर्दै उनले भनेका छन्, "सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।"

चाडपर्व सकिएलगत्तै विकसित राजनीतिक परिस्थिति, प्रहरी नेतृत्वमा भएको फेरबदल र पार्टी नेतृत्वमाथिको सम्भावित घेराबन्दीको चर्चा चुलिएका बेला सहमहामन्त्री शिवाकोटीको यो कडा अभिव्यक्ति आएको हो। उनले सरकारको त्रास र भ्रमको राजनीति सामु आफू नझुक्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमा शिवाकोटीले दिएको यो कडा चेतावनीले कांग्रेस वृत्तमा तरङ्ग पैदा गर्नुका साथै सरकार र प्रमुख प्रतिपक्षबीचको राजनीतिक टकरावलाई अझ तीव्र बनाएको छ।