काठमाडौं । मुलुकको पछिल्लो आर्थिक शिथिलताका कारण साना तथा मझौला व्यवसायीहरू संकटमा परेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा महासंघले व्यापारिक अवस्था निकै नाजुक रहेको जानकारी गराउँदै तत्काल राहत प्याकेज र नीतिगत सुधारको माग गरेको हो।
महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालका अनुसार हाल व्यवसायीहरूले सामान्य जीविकोपार्जनका लागि मात्रै संघर्ष गरिरहनु परेको छ। बैंकिङ क्षेत्रमा रहेको तरलतालाई साना व्यवसायीसम्म पुर्याउन ३ प्रतिशत ब्याजदरमा बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने मागलाई महासंघले प्रमुख एजेण्डाका रूपमा अघि सारेको छ।
घरभाडा नीतिको अस्पष्टताका कारण उत्पन्न समस्या समाधान गर्न महासंघले 'वैज्ञानिक घरभाडा नीति' को अवधारणा अघि सारेको छ। यस अन्तर्गत सहर र गाउँको वर्गीकरण गरी 'स्क्वायर फिट' का आधारमा वैज्ञानिक भाडा दर लागू गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरिएको छ। यसले स्थानीय तहमा देखिएको भाडा सम्बन्धी अन्योल अन्त्य गर्ने व्यवसायीहरूको विश्वास छ।
त्यसैगरी, भन्सार नाकाहरूमा हुने प्रक्रियागत झन्झट र दररेटका कारण आयात-निर्यात प्रभावित भएको भन्दै त्यसलाई सहज बनाउन माग गरिएको छ। व्यवसायीहरूले अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवस्थापनका सम्बन्धमा पनि ठोस सुझाव पेश गरेका छन्, जसमा हाल मौज्दात रहेको स्टक र उत्पादित वस्तुलाई उपभोक्तामैत्री ढंगले व्यवस्थापन गर्ने विषय समेटिएको छ।
अर्थमन्त्री डा. वाग्लेले व्यवसायीका मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै आगामी बजेटमार्फत साना तथा मझौला उद्योगीका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। विगतमा नीति निर्माणमा केही सीमित ठूला संस्थाहरूको मात्र वर्चस्व रहने गरेकोमा अब साना व्यवसायीका संस्थाहरूलाई पनि बजेट र योजनाका प्रक्रियामा सहभागी गराइने आश्वासन अर्थमन्त्रीले दिनुभएको छ।
विगतका सरकारहरूले साना र सटर व्यवसायीका मुद्दालाई उपेक्षा गरेको गुनासो गर्दै आएको महासंघले यसपटकको छलफललाई फलदायी मानेको छ। सरकारी आश्वासन कार्यान्वयन भएमा धरासायी बन्दै गएका साना उद्योगहरूले पुनर्जीवन पाउने र बजारमा नयाँ उत्साह आउने अपेक्षा गरिएको छ।