परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी मुलुक चीनसँग केही सीमित क्षेत्रमा अझै पनि सीमा विवाद कायम रहेको स्पष्ट पारेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा संसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिँदै मन्त्री खनालले चीनसँगको सिमानामा विवाद नै नभएको भन्न नमिल्ने जानकारी दिए।

उनका अनुसार चीनसँग जोडिएका केही निश्चित क्षेत्रहरूमा मात्र समस्या देखिएको हो र हाल उत्तरी नाकाहरूमा चहलपहल तथा गतिविधि निकै कम रहेको छ।

यसैक्रममा परराष्ट्रमन्त्रीले छिमेकी देश भारतसँगको सीमा मामिलाबारे पनि सदनलाई जानकारी गराएका छन्। दुई देशबीच सीमा स्तम्भहरूको पुनर्निर्माण र क्रसबोर्डर अकुपेसन जस्ता महत्त्वपूर्ण विषयहरूमा लगातार छलफल चलिरहेको उनले बताए।

विगत लामो समयदेखि रोकिएर रहेको यो प्राविधिक प्रक्रिया अहिले पुनः सुचारु भएको मन्त्री खनालको भनाइ छ।

हाल नेपाल र भारत दुवै देशका प्राविधिक विशेषज्ञहरू सीमा क्षेत्रमै खटिएर काम गरिरहेका छन्। प्राविधिक टोलीले मैदानमा ओर्लिएर आफ्ना गतिविधिहरूलाई तीव्र रूपमा अगाडि बढाइरहेको उनले स्पष्ट पारे।