नेपालमा पाइने बहुमूल्य जडीबुटीलाई वैज्ञानिक अनुसन्धानमार्फत व्यावसायिक औषधि उत्पादनमा रूपान्तरण गर्न सके यसले राष्ट्रको अर्थतन्त्रमा कायापलट ल्याउने देखिएको छ। वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालको वानस्पतिक सम्पदालाई प्रारम्भिक अध्ययनमै सीमित नराखी उद्योग र रोजगारसँग जोड्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

आइतबार वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले यस्तो धारणा राखेकी हुन्। उनले अनुसन्धानलाई गहिरो बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा जडीबुटीलाई कम्तीमा 'प्रि-क्लिनिकल ट्रायल' को चरणसम्म पुर्याउन विभागलाई विशेष निर्देशन दिएकी छन्।

वैज्ञानिकहरूले तयार पारेका नयाँ फर्मुलाहरूलाई निजी क्षेत्रसँगको सहकार्यमा बजारमा ल्याउनुपर्नेमा उनको जोड छ। यस प्रकारको व्यावसायिक उत्पादनले स्वदेशमै नयाँ उद्योगहरू खुल्ने, ग्रामीण भेगमा रोजगारी सिर्जना हुने, गरिबी घट्ने र उल्लेख्य मात्रामा विदेशी मुद्रा भित्रिने विश्वास मन्त्री चौधरीले व्यक्त गरेकी छन्।

वैज्ञानिक अनुसन्धान र आविष्कारमा युवा पुस्तालाई आकर्षित गर्न सरकारले विशेष पहल गर्ने भएको छ। वनस्पति तथा जडीबुटी क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रलाई समेत आकर्षित गर्ने गरी नीतिगत र कानुनी अड्चनहरू फुकाउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले स्पष्ट पारेकी छन्। अनुसन्धानमा अहोरात्र खटिने वैज्ञानिकहरूलाई उचित प्रोत्साहनको व्यवस्था गरिने पनि उनले जानकारी दिइन्।

यसैबीच, वनस्पति विभागले नेपालमा पाइने वानस्पतिक सम्पदाहरूको वैज्ञानिक अभिलेख राख्ने कामलाई तीव्रता दिएको छ। विभागले हालसम्म ६ सय ५८ प्रजातिका वनस्पतिहरूको अभिलेखीकरण सम्पन्न गरिसकेको छ भने निकट भविष्यमै 'बृहत् नेपाल फ्लोरा' नामक पुस्तक प्रकाशन गर्ने तयारी गरिरहेको छ। यसै अवसरमा वानस्पतिक स्रोत संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।

सरकारी नीति र वैज्ञानिक अनुसन्धानबीच उचित तालमेल हुन सकेमा नेपाल निकट भविष्यमै विश्वव्यापी जडीबुटी तथा औषधि बजारमा एक प्रमुख आपूर्तिकर्ताका रूपमा उदाउने निश्चित छ।