त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ह्वाट्सएप मार्फत सार्वजनिक भएपछि प्रहरीले मुख्य आरोपितहरूलाई नियन्त्रणमा लिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार घटना सार्वजनिक हुनासाथ सम्बन्धित निकायहरूसँग गरिएको तत्काल समन्वयका कारण २४ घण्टा नबित्दै मुख्य अभियुक्तहरू पक्राउ परेका हुन्।
परीक्षा प्रणालीको विश्वासनीयता र हजारौँ इमानदार विद्यार्थीको भविष्य जोडिएको विषय भएकाले मन्त्री पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग सम्पर्क गरी अनुसन्धान अघि बढाउन आग्रह गर्नुभएको थियो। सोहीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो र साइबर ब्युरोलाई आवश्यक छानबिनका लागि परिचालन गरिएको थियो।
प्रहरीले डिजिटल प्रमाण र ह्वाट्सएप समूहहरूको विस्तृत विश्लेषण गर्दै घटनामा संलग्न मुख्य व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएको हो। अनुसन्धान अझै जारी रहेको र यस घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही हुनुपर्ने अडान मन्त्रालयले राखेको छ।
घटनाको आन्तरिक छानबिनका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डिन कार्यालयले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। उक्त समितिले प्रश्नपत्र बाहिरिनुका कारण, सुरक्षा प्रणालीमा रहेका कमजोरी र भावी सुधारका उपायबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ।
यस घटनालाई परीक्षा प्रणालीभित्र रहेका कमजोरी सुधार्ने अवसरका रूपमा लिँदै मन्त्रालयले आवश्यक कानुनी तथा संस्थागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ। विगतमा जस्तो छानबिन लम्बिने र दोषी उम्किने परिपाटीको अन्त्य गर्दै परीक्षा प्रणालीलाई अझ पारदर्शी र सुरक्षित बनाउन कदम चालिने अपेक्षा गरिएको छ।