सन् २०२६ अगस्ट २६ बुधबारका दिन नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालका अनुसार आपतकालीन अवस्थालाई सम्बोधन गर्न कूटनीतिक तथा उद्धार संयन्त्रहरू पूर्ण रूपमा सक्रिय बनाइएको छ।

उद्धार प्रयासअन्तर्गत कैलाश मानसरोवर यात्राका क्रममा प्रभावित क्षेत्रमा फसेका २१ जना भारतीय नागरिकलाई काठमाडौँ ल्याई इण्डिगोको विमानमार्फत दिल्ली पठाइएको छ। यस्तै त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत ६३ जना भारतीय नागरिकको सफल उद्धार गरिएको छ भने चीनतर्फबाट ९६ जना भारतीय नागरिक सुरक्षित रूपमा नेपाल प्रवेश गरेका छन्।

 
ADVERTISEMENT Xtreme - Inside

तिब्बत स्वायत्त क्षेत्रतर्फ रहेका करिब ४०० जना भारतीय नागरिक सम्पर्कमा रहेको र उनीहरू सुरक्षित रहेको पुष्टि भएको छ। यद्यपि चिनियाँ भूभागमा गएको पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएकाले उनीहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउन कूटनीतिक नियोग र ट्राभल एजेन्टहरूले समन्वय गरिरहेका छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार हाल ३२० जना भारतीय नागरिक बेपत्ता सूचीमा रहेका छन् भने विदेशी नागरिकता भएका करिब १०० जना भारतीय मूलका व्यक्तिहरूसँग सम्पर्क हुन सकेको छैन। अवस्थालाई व्यवस्थित गर्न नयाँ दिल्लीस्थित विदेश मन्त्रालयका साथै काठमाडौँ र बेइजिङस्थित भारतीय दूतावासमा २४ सै घण्टा नियन्त्रण कक्ष सञ्चालन गरिएको छ।

मानवीय सहायताअन्तर्गत भारतले नेपाललाई हालसम्म तीन वटा उडानमार्फत राहत सामग्री पठाएको छ। अगस्ट २६ मा १० टन र अगस्ट २७ मा ३७.५ टन सामग्री पठाइएकोमा आज थप १२ देखि १३ टन राहत सामग्री पठाइएको छ, जसमा कम्बल, खाद्यान्न, औषधि र सोलार ल्याम्प समावेश छन्।

नेपाल सरकारको अनुरोधमा भारतले टनेल उद्धार टोली, मेडिकल टोली, यातायात सहज बनाउन बेली ब्रिज र प्राविधिक टोली पठाउने तयारी गरेको छ। साथै खोज तथा उद्धारका लागि एनडीआरएफ टोली परिचालन गर्न प्रस्ताव गरिएको र नेपाल सरकारको आधिकारिक जवाफको प्रतीक्षा भइरहेको जयसवालले बताउनुभयो।