नेपालको वैदेशिक व्यापारमा परनिर्भरताको डरलाग्दो चित्र सार्वजनिक भएको छ। भन्सार विभागको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ। कुल १४ खर्ब ४० अर्ब ३६ करोडको वैदेशिक व्यापार हुँदा नेपालले झन्डै १३ खर्बको वस्तु आयात गरेको छ भने निर्यातको हिस्सा मात्र १ खर्ब ९१ अर्बमा खुम्चिएको छ।

व्यापार घाटाको मुख्य भार छिमेकी मुलुक भारत र चीनमाथि केन्द्रित छ। भारतसँग ५ खर्ब ६७ अर्ब ३९ करोड र चीनसँग २ खर्ब ६४ अर्ब ६८ करोड रुपैयाँको घाटा देखिएको छ। यी दुई देशसहित अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया गरी पाँच राष्ट्रसँग मात्रै नेपालको व्यापारिक असन्तुलन १० खर्ब रुपैयाँको हाराहारीमा छ। यद्यपि, रोमानिया, नर्वे र आइसल्याण्ड जस्ता केही मुलुकसँग भने नेपाल झिनो नाफामा देखिएको छ।

ADVERTISEMENT Nepal Aaja Register

तथ्याङ्कअनुसार नेपालको सबैभन्दा ठूलो खर्च पेट्रोलियम पदार्थको आयातमा भइरहेको छ। समीक्षा अवधिमा ८२ अर्ब १० करोडको डिजेल र ४३ अर्ब ८९ करोडको पेट्रोल भित्रिएको छ। खाद्यान्नमा समेत आत्मनिर्भर हुन नसक्दा चामल र धान आयातका लागि २७ अर्ब ९१ करोड रुपैयाँ बाहिरिएको छ। निर्याततर्फ भटमासको तेलले बजार धानिरहेको भए पनि अलैँची, कार्पेट र सूर्यमुखी तेलको निर्यातले बढ्दो आयातलाई थाम्न सकेको छैन। अघिल्लो वर्षको तुलनामा आयात १२.५४ प्रतिशत र निर्यात २९.८३ प्रतिशतले बढे पनि घाटाको अंकले अर्थतन्त्रमा थप चुनौती थपेको छ।

यसले आगामी दिनमा आन्तरिक उत्पादन र निर्यात प्रवर्द्धनका ठोस नीति नआएसम्म नेपालको अर्थतन्त्र बाह्य मुलुककै भरमा रहने जोखिमलाई थप प्रष्ट पारेको छ।