नेपालमा सञ्चालित अमेरिकी सहायता नियोग (युएसएआईडी) का कार्यक्रमहरू कटौती भएपछि त्यसको तरङ्ग अमेरिकी राजनीतिमा देखिएको छ। एसोसिएटेड प्रेस (एपी) ले तयार पारेको एक रिपोर्टलाई लिएर अमेरिकी रूढिवादी नेता तथा टिप्पणीकारहरूले अनुदान नीतिमाथि प्रश्न उठाएका हुन्।

एपीको रिपोर्टमा अमेरिकी अनुदान बन्द भएसँगै नेपालका करिब १०० जना तेस्रोलिङ्गी स्वास्थ्य कार्यकर्ताहरूले रोजगारी गुमाएर यौन व्यवसाय रोज्न बाध्य भएको उल्लेख गरिएको थियो।

उक्त रिपोर्टमा पूर्व स्वास्थ्य कार्यकर्ता रुबी लामाले पहिले युएसएआईडीको सहयोगमा निःशुल्क कण्डम, लुब्रिकेन्ट र एचआईभी रोकथामका औषधि (प्रेप) वितरण हुने गरेको तर अहिले ती सेवा ठप्प भएको जानकारी गराएकी थिइन्।

तर यो रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी रूढिवादी वृत्तमा भने फरक प्रतिक्रिया उत्पन्न भएको छ। उनीहरूले अमेरिकी करदाताको रकम विदेशमा यस्ता कार्यक्रमका लागि खर्च हुनु गलत रहेको तर्क प्रस्तुत गरेका छन्।

टेक्ससका सांसद ब्राण्डन गिलले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै अमेरिकी करदाताको रकमले विदेशी यौनकर्मी वा लक्षित कार्यक्रमलाई निरन्तरता दिनु नहुने भन्दै कटौतीको निर्णय सही भएको दाबी गरे।

त्यसैगरी, सञ्चारकर्मी म्याट वाल्श र द फेडरलिस्टकी सम्पादक मली हेमिङ्वेले पनि सञ्चारमाध्यमको प्रस्तुतिमाथि प्रश्न उठाउँदै विदेशी सहायता रोक्ने सरकारी कदमको समर्थन गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पदबहाली गरेलगत्तै वैदेशिक सहायता समीक्षाहरूका लागि ९० दिनको रोक लगाउने आदेश दिएका थिए। त्यसपछि युएसएआईडीले आफ्ना साझेदार संस्थाहरूलाई काम रोक्न र बजेट स्थगन गर्न निर्देशन दिएको थियो।

सहायता रोकिँदा नेपाल जस्ता देशमा जनस्वास्थ्य र जीविकोपार्जनमा असर परेको दाबी गरिए पनि अमेरिकी पक्षमा भने वैदेशिक अनुदानको औचित्यमाथि बहस जारी छ।