दक्षिण एसियाली छिमेकी देशहरू भारत, बङ्गलादेश र नेपालको तुलनामा पाकिस्तान भोकमरी र कुपोषण नियन्त्रणको प्रयासमा पछाडि परेको छ। सीमित महिला रोजगारी, उच्च बाल कुपोषण, आर्थिक मन्दी र जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको ह्रासले पाकिस्तानको खाद्य सुरक्षामा ठूलो चुनौती खडा गरेको छ।
जापानी सञ्चारमाध्यम निक्केई एसियाले २२ अक्टोबर २०२६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाकिस्तानमा खाद्य असुरक्षाको समस्या सामाजिक तथा आर्थिक चुनौतीहरूसँग प्रत्यक्ष जोडिएको छ। विज्ञहरूका अनुसार महिलाका लागि रोजगारीका अवसर सीमित हुँदा परिवारको क्रयशक्ति घट्न गई पौष्टिक आहार, स्वास्थ्य सेवा र खाद्यान्नमा सर्वसाधारणको पहुँच प्रभावित भएको छ।
यसैगरी, निरन्तरको मौसमी प्रतिकूलता र प्राकृतिक विपत्तिले कृषि क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको छ। सन् २०२५ अगस्टमा पञ्जाब प्रान्तमा आएको विनाशकारी बाढीका कारण विस्थापित नागरिकहरू खाद्यान्न सहायतामा निर्भर हुनुपरेको घटनाले विपद्का बेला खाद्य सुरक्षाको संवेदनशीलता उजागर गरेको थियो।
यस सङ्कत समाधानका लागि पाकिस्तानले महिला रोजगारीको विस्तार, बाल कुपोषण नियन्त्रण र विपद् व्यवस्थापनमा लगानी बढाउनु आवश्यक देखिन्छ। जलवायु अनुकूल कृषि प्रणालीको विकास र लक्षित सामाजिक सुरक्षा कार्यक्रममार्फत दीर्घकालीन नीतिगत समन्वय कायम गर्न सके मात्र भोकमरीको जोखिम घटाउन सकिनेछ।