अफगानिस्तानको दक्षिणपूर्वी सीमावर्ती क्षेत्र र पाकिस्तानको उत्तरपूर्वी भूभाग जोड्ने डुरण्ड रेखा नजिकै भएको भीषण दोहोरो सैन्य कारबाहीले सीमाक्षेत्रमा गम्भीर सुरक्षा चुनौती पैदा गरेको छ। दुवै देशका सुरक्षा निकायले एक-अर्काविरुद्ध घातक आक्रमण र क्षति पुर्याएको दाबी गरेपछि सीमावर्ती बस्तीहरू प्रभावित बनेका छन्।
काबुल टाइम्सका अनुसार बुधबार दिउँसो करिब १ बजे पाकिस्तानी सेनाका मानवरहित विमान (ड्रोन) ले पक्तिका प्रान्तको अंगुरेडा बजार र नजिकैको सीमा चौकीलाई लक्षित गरी चारवटा हवाई आक्रमण गरेका थिए। उक्त आक्रमणको जवाफमा इस्लामिक इमिरेट्सको रक्षा मन्त्रालयले आफ्ना सैनिकहरूले नजिकै रहेका पाकिस्तानी सैन्य शिविर तथा चौकीहरूमा भारी गोलाबारी गरेको जनाएको छ।
अफगान रक्षा मन्त्रालयको वक्तव्यमा आफ्नो जवाफी कारबाहीबाट पाकिस्तानी सेनाकातर्फ ठूलो भौतिक क्षति हुनुका साथै कैयौँ सैनिक मारिएको वा घाइते भएको दाबी गरिएको छ। सो कारबाहीमा अफगान तर्फ भने कुनै पनि क्षति नभएको मन्त्रालयले स्पष्ट पारेको छ।
यद्यपि, इस्लामाबादले काबुलको दाबीलाई पूर्ण रूपमा खारेज गरेको छ। पाकिस्तानको सूचना मन्त्रालय तथा सञ्चारमाध्यम द न्युजका अनुसार अफगान तालिबान सेनाले कुनै उक्साहटबिनै सीमावर्ती गैरसैनिक नागरिकमाथि गोलीबारी र मोर्टार आक्रमण गरेको आरोप लगाइएको छ। दक्षिण वजिरिस्तानको अंगुरेडा क्षेत्रमा भएको उक्त आक्रमणमा परी एक सर्वसाधारणको ज्यान गएको छ भने एउटै परिवारका पाँच जना सदस्य गम्भीर घाइते भएका छन्।
सर्वसाधारणमाथि आक्रमण भएपछि पाकिस्तानी सुरक्षा बलले तत्काल र कडा जवाफी कारबाही थालेको सुरक्षा स्रोतले जनाएको छ। सूचना मन्त्रालयका अनुसार पाकिस्तानी सेनाको कारबाहीमा अफगान सैन्य टोलीका सातवटा सुरक्षा चौकीहरू पूर्ण रूपमा नष्ट भएका छन्।
पूर्वी र दक्षिणी सीमामा पाकिस्तानको उत्तरी तथा दक्षिणी वजिरिस्तान र बलुचिस्तानको जोब जिल्लासँग जोडिएको पक्तिका प्रान्तमा भएको यो पछिल्लो भिडन्तले डुरण्ड रेखा वरपरको क्षेत्रमा द्वन्द्व अझै तन्किने संकेत गरेको छ।