काठमाडौं । दक्षिण कोरियाको सउलमा बसोबास गर्दै आएका एक नेपाली नागरिकलाई नेपालमा 'माता' को भेष धारण गरेका व्यक्तिहरूले रोग निको पार्ने बहानामा लाखौँ रुपैयाँ बराबरको नगद तथा जिन्सी ठगी गरेको घटना सार्वजनिक भएको छ। पत्रकारिताको मूल्य र मान्यतालाई मध्यनजर गर्दै यस समाचारमा पीडितको परिचय गोप्य राखिएको छ।
पीडित पक्षको आरोप अनुसार, आफूलाई ‘आदि कुमारी’ तथा ‘पाथीभरा माता’ भन्दै चिनाउने अनिल बोम्जन नामका एक पुरुषले झारफुक र दैवी शक्तिको माध्यमबाट रोग निको पारिदिने प्रलोभन देखाएका थिए। उपचारको बहाना बनाउँदै बोम्जनले करिब १.५ (डेढ) तोला सुन, रु. ५०,००० नगद, रु. ५०,००० मूल्य बराबरको बक्स पलङ र रु. ३५,००० को लेहेङ्गासहित १६ शृङ्गारका सामग्रीहरू लिएको आरोप छ।
यसका अतिरिक्त त्रिशूल, दुई वटा शिवको मूर्ति, दशमहाविद्या कालीको मूर्ति, पालाञ्चोक भगवतीको मूर्ति, गणेशको मूर्ति, नागको मूर्ति लगायतका अन्य महँगा पूजासामग्रीहरू समेत मागिएको थियो। यति मात्र नभई, बोम्जनले "ममाथि १९ वर्षदेखि देवी चढ्दै आएको छ, अब रथ निकाल्नुपर्छ" भन्दै पाल्कीसमेत मागेको पीडित पक्षले दाबी गरेको छ।
बिचौलियाको रूपमा विभिन्न नाम फेर्ने महिलाको प्रयोग
यस सम्पूर्ण ठगी प्रकरणमा बिचौलियाको भूमिका भने एक महिलाले निर्वाह गरेकी थिइन्। ती महिलाले आफूलाई परिस्थिति अनुसार 'कविता घले', 'लाइबा घले' र 'अस्मी' जस्ता विभिन्न नामले चिनाउने गरेको खुलेको छ। प्राप्त जानकारी अनुसार उनको नागरिकतामा उल्लेखित वास्तविक नाम भने ‘लाइबा घले’ हो।
पीडित पक्ष र कथित माता अनिल बोम्जनबीच सम्पर्क गराउने र रकम लेनदेन गर्ने सम्पूर्ण काम यिनै अस्मी अर्थात् लाइबा घलेमार्फत भएको थियो।
सम्पर्कविहीन बने आरोपित
लामो समयसम्म पूजापाठ र कथित उपचारपछि पनि बिरामीको अवस्थामा कुनै सुधार नआएपछि पीडित पक्षले शंका लागी आफ्ना सामान र पैसा फिर्ता मागेका थिए। सामान फिर्ता माग्दा अनिल बोम्जनले "अस्मी (लाइबा) लाई लिएर आउनू" भन्दै पन्छिन खोजेको र दुवै जना मिलेर उक्त रकम र सामग्री हिनामिना गरेको आरोप पीडित पक्षको छ। हाल बिचौलियाको भूमिकामा रहेकी अस्मी (लाइबा घले) पूर्ण रूपमा सम्पर्कविहीन रहेकी छिन्।
बढ्दै छ अन्धविश्वासको नाममा ठगी
पछिल्लो समय नेपालमा अन्धविश्वास र झारफुकको नाममा सोझासाझा नागरिकलाई ठगी गर्ने प्रवृत्ति चिन्ताजनक रूपमा बढ्दै गइरहेको छ। 'माता', 'बाबा' वा 'भगवानको रूप' भन्दै मानिसको मनोवैज्ञानिक त्रास र बाध्यताको फाइदा उठाएर आर्थिक शोषण गर्ने यस्ता गिरोहहरूबाट सचेत रहन प्रहरी प्रशासनले बेलाबेलामा आग्रह गर्दै आएको छ।
प्रस्टीकरणको लागि अपिल
यस समाचारमा मुछिएका अनिल बोम्जन र लाइबा घले (अस्मी/कविता) सँग सम्पर्क गरी उनीहरूको भनाइ राख्न हाम्रो तर्फबाट गरिएको प्रयास सफल हुन सकेन। यदि आरोपित पक्षले यस विषयमा आफ्नो खण्डन वा प्रस्टीकरण दिन चाहेमा पत्रकारिताको धर्म र निष्पक्षतालाई कायम राख्दै हामी आगामी दिनमा उनीहरूको भनाइलाई पनि स्थान दिनेछौँ।