प्रधानमन्त्री बालेन शाहले समाजमा साँचो क्रान्तिको सुरुवात 'क' बाट नभई 'ज्ञ' अर्थात् ज्ञानबाट हुनुपर्नेमा जोड दिएका छन्। बुद्ध जयन्तीको पावन अवसरमा शुभकामना सन्देश दिँदै उनले वास्तविक परिवर्तनका लागि बौद्धिक चेतना र प्रज्ञा अपरिहार्य रहेको उल्लेख गरे।
भगवान् बुद्धले प्रतिपादन गर्नुभएको चार आर्य सत्य—दुःख, यसको कारण र निवारणको मार्गको चर्चा गर्दै प्रधानमन्त्रीले बुद्धको दर्शनलाई दुःख मुक्तिको अचुक उपायका रूपमा व्याख्या गरे। उनले ज्ञानको किरणले पाइला टेक्नासाथ अज्ञानताको अँध्यारो स्वतः हराएर जाने भन्दै मानव यात्रा सधैँ समस्या समाधानको मार्गमा लक्षित हुनुपर्ने बताए।
शान्तिका प्रवर्तक बुद्धको जन्मले धन्य भएको नेपाली भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको कुरालाई उनले पुन: स्मरण गराए। विश्वशान्तिको कामना गर्दै प्रधानमन्त्रीले नेपाली जनतालाई प्रज्ञामय जीवनका लागि प्रेरित गरे।
आफ्नो सन्देशमा उनले 'अप्प दीपो भवः' को मर्मलाई आत्मसात् गर्दै सबैलाई आफ्नै प्रकाश आफैँ बन्न र ज्ञानको खोजीमा लाग्न आग्रह गरेका छन्। बुद्धले देखाएको बाटो नै आधुनिक समस्याहरूको समाधानको बाटो भएको उनको ठम्याइ छ।
बुद्ध जयन्तीको यस विशेष घडीमा उनले सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै नेपाल सधैँ बुद्धको उपदेशको अनुयायी रहने विश्वास दिलाएका छन्।