भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन शाहले सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग महत्त्वपूर्ण द्विपक्षीय वार्ता गर्दैछन्। अधिकारीहरूले दुई प्रधानमन्त्रीबीच हुने वार्ता अर्थपूर्ण रहने बताएका छन्।

आफ्नो परिचित कालो चस्मा, कालो कोट, दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर आइतबार अपराह्न दिल्ली पुगेका ३६ वर्षीय प्रधानमन्त्री शाहको गत मार्चमा सरकारको नेतृत्व सम्हालेयता यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही संयुक्त समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

त्यसपछि दुवै प्रधानमन्त्रीले पत्रकारहरूको उपस्थितिमा सम्बोधन गर्नेछन्। भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डल सोमबार नै काठमाडौँ फर्कने कार्यतालिका छ।

नेपाली पक्षका अनुसार दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्मको रेल सेवाको उद्घाटन तथा भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माण प्याकेजलगायतका विषयमा सहयोग घोषणा गरिने बताइएको छ।

सोमबारको कार्यतालिका

यो संक्षिप्त राजकीय भ्रमणका सर्वाधिक महत्त्वपूर्ण कार्यक्रमहरू सोमबारका लागि तय गरिएका छन्। प्रधानमन्त्री शाहले बिहान राष्ट्रपति भवनमा 'गार्ड अफ अनर' ग्रहण गरेर दिनको सुरुवात गर्नेछन्।

उक्त औपचारिक समारोहपछि राजघाट पुगेर महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यहाँबाट प्रधानमन्त्री शाह र नेपाली प्रतिनिधिमण्डल हैदरावाद हाउस पुग्नेछन्।

कार्यतालिका अनुसार हैदरावाद हाउसमा तस्बिर खिचाउने कार्यक्रमपछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच करिब ४५ मिनेट एक्लाएक्लै वार्ता हुनेछ। त्यसपछि मात्र प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ।

सम्झौताहरूमा हस्ताक्षर गरेपछि प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्। दिवाभोजपछि राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरी उनी आजै स्वदेश फर्कनेछन्।

आगमन र पहिलो दिनका भेटघाट

आइतबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। स्वागतपछि बाहिरिने क्रममा दुवैले विमानस्थलमा प्रधानमन्त्री शाहको सम्मानमा प्रस्तुत सांस्कृतिक नृत्य अवलोकन गरेका थिए।

सामाजिक सञ्जाल एक्समा लेख्दै राज्यमन्त्री प्रसादले सत्ता सम्हालेयता नेपालका प्रधानमन्त्रीले गरेको पहिलो भ्रमणले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धमा नयाँ गति र ऊर्जा दिने विश्वास व्यक्त गरेका छन्।

आइतबार साँझ भारतीय विदेशमन्त्री एस जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र नयाँ दिल्लीस्थित नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायतका अधिकारी सहभागी थिए।

भेटपछि विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "नेपालका प्रधानमन्त्री बालेन शाहसँग भेट गर्न पाउनु मेरो सौभाग्य हो। भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिन्छ। भोली प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने वहाँको भेटघाट कार्यक्रमहरूलाई लिएर उत्सुक छु।"

विगतका भ्रमणभन्दा पृथक् कार्यसूची

भ्रमणको पहिलो दिन जम्मा एउटा औपचारिक शिष्टाचार भेटमा आफूलाई सीमित राखेका प्रधानमन्त्री शाहको कार्यसूची उनका पूर्ववर्तीहरूको भ्रमणभन्दा पृथक् देखिएको छ। उनले नेपाल–भारत सम्बन्धबारे आफ्नो दृष्टिकोण सम्भवतः सोमबार प्रधानमन्त्री मोदीसँगको भेटपछि सार्वजनिक रूपमा राख्नेछन्।

आइतबार साँझ आयोजित 'इन्डिया–नेपाल बिजनेस राउन्डटेबल' कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी भएनन्। दुवै देशका उद्योगी व्यवसायी सहभागी उक्त कार्यक्रममा नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतका तर्फबाट राज्यमन्त्री जितिन प्रसाद सहभागी थिए। भारतीय सञ्चारमाध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री शाहको भ्रमण ऐतिहासिक हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्रीको भ्रमण दलमा मुख्य सल्लाहकार कुमार बेनसहित केही सल्लाहकार र विज्ञ सहभागी छन्। भारतीय प्रधानमन्त्रीसँगको छलफलमा नेपालका तर्फबाट को–को सहभागी हुन्छन् भन्नेमा चासो देखिएको छ। विगतमा नेपालका प्रधानमन्त्रीहरूले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेटवार्ता गर्ने प्रचलन रहे पनि यसपटक प्रधानमन्त्रीस्तरमा त्यस्तो भेट निर्धारण गरिएको देखिएको छैन। साथै, विगतमा जस्तो धार्मिकस्थलहरूको यात्रा र अन्य राज्यहरूको अवलोकन भ्रमणजस्ता कार्यक्रम पनि यसपटक समावेश छैनन्।