प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका राष्ट्रिय उद्योगहरूलाई पुनः जीवन्त बनाउने क्रममा आशालाग्दा परिणामहरू देखिन थालेको जानकारी दिनुभएको छ। सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै प्रधानमन्त्री शाहले नयाँ सरकारको इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण सुधारका नयाँ ढोका खुलेको बताउनुभएको छ।
सार्वजनिक गरिएको तथ्यांक अनुसार वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले (जिएमपी) मापदण्ड प्राप्त गरेपछि पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। यसै मापदण्डका कारण गत आर्थिक वर्षमा कम्पनी ३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगको तान मर्मत गरी परीक्षण उत्पादन सुरु गरिएको छ। परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ भने परीक्षण पश्चात् नेपाल सरकारले नै उद्योग सञ्चालन गर्ने योजना रहेको छ।
नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा अकुपेन्सी दर पनि ६ प्रतिशतले बढेर ८६ प्रतिशत पुगेको छ।
यसैगरी, दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको ८ महिनाको बक्यौता भुक्तानी चक्र (७२ करोड रुपैयाँ) लाई घटाएर २-३ महिना (३५ करोड रुपैयाँ) मा झारेको छ। कर्मचारीहरूलाई दिइँदै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको छ भने खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यातको तयारी भइरहेको छ। नगरकोट केन्द्रबाट चिज उत्पादन पनि पुनः सुरु गरिँदैछ।
सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ गुना बढी हो।
देशप्रतिको समर्पण र इमान्दारिता कायम रहेमा रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगहरूमा पनि नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरिएको छ।