प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको पछिल्लो अप्रिय घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै पीडित परिवारलाई न्याय, क्षतिपूर्ति र दोषीलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुगेको र समाज भाँडिने वातावरण बनेको बताउनुभएको छ। मानवता बोकेको कसैले पनि यस्तो अवस्था नचाहेको भए पनि घटनाक्रमहरू अशान्त बन्न पुगेको उहाँको भनाइ छ।

प्रधानमन्त्रीका रूपमा मात्र नभई देशको एक नागरिकका रूपमा पनि आफू यस घटनाबाट दुःखी भएको जनाउँदै उहाँले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले पीडित परिवारको दुःख महसुस गरी यथासक्य चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने विश्वास दिलाउनुभएको छ।

घटनाको सुरुवातदेखि नै सरकारको उपस्थिति रहे पनि त्यो पर्याप्त नभएको स्वीकार गर्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान गुम्नु र घाइते हुनु कुनै पनि हालतमा सामान्य कुरा नभएको स्पष्ट पार्नुभएको छ। यस विषयमा छानबिन सुरु भइसकेको र दोषी ठहरिने कसुरदारहरूमाथि कानुन बमोजिम कडा कारबाही गरिने उहाँले जानकारी गराउनुभएको छ।

मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु भएको र सरकारको पहिलो दायित्व आफ्ना नागरिकलाई सुरक्षित बनाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैलाई रिस, राग, डर र आक्रोश छाडेर संयमित हुन आग्रह गर्नुभएको छ। कुनै पनि उत्तेजित वा भड्काउपूर्ण गतिविधिमा सरिक नभई एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सदभाव कायम राख्न उहाँले अपिल गर्नुभएको छ।

सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र पुनः यस्ता घटना दोहोरिन नदिन तत्काल आवश्यक र जिम्मेवार कदमहरू चालिरहेको जनाइएको छ।