नेपाल भलिबल संघले घरेलु खेलकुदलाई थप व्यावसायिक बनाउने उद्देश्यका साथ करिब १ करोड १५ लाख रुपैयाँ बजेटमा पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग आयोजना गर्न लागेको छ। आगामी वैशाख १० देखि १९ गतेसम्म काठमाडौंमा सञ्चालन हुने यस प्रतियोगिताले खेलाडीहरूको आर्थिक र व्यावसायिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

संघका अनुसार, अघिल्लो एनभिए च्याम्पियनसिपबाट छनोट भएका उत्कृष्ट १४ टोलीहरूले यस लिगमा प्रतिस्पर्धा गर्नेछन्। जसमा ८ वटा पुरुष टोली र ६ वटा महिला टोली समावेश छन्। पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, लुम्बिनीको खिल्जी युवा क्लब, पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब भिड्नेछन्। त्यसैगरी, महिलातर्फ न्यु डाइमन्ड युथ स्पोट्र्स क्लव, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लव, सुदूरपश्चिम प्रदेश, एभरेष्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लवले उपाधिका लागि प्रतिस्पर्धा गर्ने तय भएको छ।

प्रतियोगिताको स्तर र प्रतिस्पर्धात्मक क्षमता बढाउन आयोजकले प्रत्येक टोलीलाई अधिकतम तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरेको छ। यसले नेपाली कोर्टमा अन्तर्राष्ट्रिय स्तरको खेल प्रदर्शन हुने पक्का गरेको छ।

खेलाडी र क्लबहरूलाई आकर्षित गर्न ठूलो धनराशिको पुरस्कार व्यवस्था गरिएको छ। दुवै विधाका विजेता टोलीले जनही १० लाख रुपैयाँ हात पार्नेछन् भने उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसबाहेक, सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही ६० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट विधागततर्फ सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँले सम्मान गरिने आयोजकले जनाएको छ।

खेलाडीहरूको व्यवस्थापनलाई सहज बनाउन उपत्यका बाहिरबाट आउने खेलाडीलाई दैनिक १ हजार २०० रुपैयाँ र उपत्यकाभित्रका खेलाडीलाई दैनिक ३०० रुपैयाँ भत्ता उपलब्ध गराइनेछ। उच्चस्तरीय आर्थिक तथा प्राविधिक व्यवस्थापनसहित हुन लागेको यस लिगले नेपाली भलिबलको भविष्यलाई थप मजबुत र व्यावसायिक दिशामा डोर्याउने निश्चित छ।