पोखरा । अर्बौं लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसक्दा र सरकारको स्पष्ट पर्यटन नीति नहुँदा पोखराको पर्यटन व्यवसाय धरासायी बन्दै गएको सरोकारवालाहरूले बताएका छन्।

 

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले राज्यको अदूरदर्शी नीतिका कारण पोखराको पर्यटन क्षेत्र चौतर्फी मारमा परेको गुनासो गरेका छन्। विमानस्थल सञ्चालनमा नआउनु, जथाभावी सडक खन्दा पदमार्ग मासिनु, प्याराग्लाइडिङ खुम्चिनु र भारतीय पर्यटकको उचित व्यवस्थापन नहुँदा यहाँको पर्यटन क्षेत्रले सोचेजस्तो लाभ लिन नसकेको उनको भनाइ छ।

विमानस्थल बनेपछि हौसिएका व्यवसायी ऋणमा

अध्यक्ष पहारीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि पोखरामा पर्यटकको ओइरो लाग्ने आशमा व्यवसायीले पूर्वाधार र होटलमा आक्रामक लगानी गरेका थिए। हाल पोखरामा दैनिक ४० हजार बेड क्षमताका होटलहरू सञ्चालनमा छन्। तर, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा होटलहरूको अकुपेन्सी अत्यन्तै न्यून छ, जसले गर्दा बैंकको ऋण तिर्न नसकेर व्यवसायीहरू ठूलो मारमा परेका छन्।

"विमानस्थल निर्माणमा घोटाला भयो वा भूराजनीतिको असर पर्यो भन्ने विषय राज्यको अनुसन्धानको दायरा होला, तर बनिसकेको विमानस्थल राज्यले जसरी पनि चलाउनुपर्छ," पहारीले भने, "राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मात्रै भए पनि उडाउनुपर्नेमा राज्यले ध्यान दिएको छैन।" हवाई टिकटमा लगाइएको १३ प्रतिशत भ्याटले पनि गन्तव्य महँगो भई पर्यटक आगमनमा नकारात्मक असर परेको उनले बताए।

‘पिँजडाको चरी’ बन्यो प्याराग्लाइडिङ, पाइलट विदेशिँदै

विश्वकै उत्कृष्ट पाँचभित्र पर्ने पोखराको प्याराग्लाइडिङ नयाँ विमानस्थल सञ्चालनसँगै सङ्कटमा परेको छ। विमानस्थलको एयरस्पेसका कारण प्याराग्लाइडिङलाई सानो क्षेत्रमा मात्र सीमित गरिँदा यो 'पिँजडाको चरी' जस्तो भएको पहारीले बताए। विशेषगरी विदेशी पर्यटकले रुचाउने 'सोलो उडान' (एक्लै उड्ने) लगभग बन्द अवस्थामा छ भने प्याराग्लाइडिङ स्कुलहरू पनि बन्द भएका छन्। उडान क्षेत्र सङ्कुचित हुँदा नेपाली पाइलटहरू रोजगारका लागि भारतलगायतका देशमा पलायन हुन थालेका छन्।

धुलाम्य सडकले मासियो २१ दिने अन्नपूर्ण पदमार्ग

पहाडी क्षेत्रमा जथाभावी डोजर लगाएर सडक खनिँदा माउन्टेन टुरिजम र ट्रेकिङ नराम्ररी प्रभावित भएको छ। कुनै समय विश्वकै उत्कृष्टमध्येको २१ दिनको अन्नपूर्ण पदमार्ग अहिले सडकका कारण खुम्चिएर ७/८ दिनमा झरेको छ। पदमार्ग मासिँदा पर्यटकको बसाइ अवधि (Length of Stay) घटेको छ। सडक विस्तारसँगै पर्यटकका लागि वैकल्पिक पदमार्ग निर्माण गर्न राज्यले कुनै चासो नदेखाएको परिषद्को गुनासो छ।

भारतीय पर्यटकको चाप, तर व्यवस्थापन शून्य

पोखरामा विशेषगरी मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटकको चाप बढे पनि त्यसबाट स्थानीय अर्थतन्त्रले फाइदा लिन सकेको छैन। "धेरै भारतीय पर्यटकहरू गोरखपुरबाट सिधै रिजर्भ बसमा आउँछन्, गाडीमै सुत्छन् र सिधै मुक्तिनाथ पुग्छन्," पहारीले भने, "उनीहरूले यहाँका होटल प्रयोग नगर्दा र राज्यले उनीहरूलाई लक्षित गरी पार्किङ र 'ब्रेकिङ सेन्टर' (विश्राम स्थल) नबनाउँदा बजारमा भिड मात्रै बढेको छ।"

यसका साथै, भारतबाट आउने पर्यटक गाडीहरूले किलोमिटरको हिसाबमा सस्तो कर तिरेर नेपालभर निर्बाध चलाउँदा नेपालका महँगो कर तिरेका टुरिस्ट गाडीहरू विस्थापित हुने अवस्थामा पुगेका छन्। सरकारले इम्बोस्ड नम्बर प्लेट लागू गर्दा पर्यटक सवारीको पहिचान बोकेको 'हरियो प्लेट' लाई पनि एउटै डोकोमा राखेर त्यसको अन्तर्राष्ट्रिय साख मेटाएको पहारीको आरोप छ।

नीतिगत उल्झन र समाधानको माग

सञ्चालनमा रहेका होटलहरूलाई समेत वातावरण अध्ययनका नाममा दुःख दिने काम भइरहेको भन्दै परिषद्ले आपत्ति जनाएको छ। होमस्टे (घरबास) प्रवर्द्धनमा विगतमा प्रदेश सरकारले राम्रो अनुदान दिए पनि सरकार परिवर्तनसँगै त्यस्ता कार्यक्रमको निरन्तरता टुटेको छ।

पोखराको पर्यटनलाई जोगाउन तिनै तहका सरकारले पर्यटनमैत्री नीति ल्याउनुपर्ने, बन्द रहेका साहसिक खेलका गतिविधि पुनः खुलाउनुपर्ने र पोखरा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन कूटनीतिक र व्यावसायिक पहल गर्नुपर्नेमा अध्यक्ष पहारीले जोड दिएका छन्।