राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव तथा केन्द्रीय सदस्यहरूसहितका नेताहरूले पार्टी परित्याग गरेका छन्।
२०८३ असोज २ गते जारी प्रेस विज्ञप्ति मार्फत उनीहरूले आफूहरू संलग्न रहेको पार्टीबाट अलग्गिने निर्णयको आधिकारिक घोषणा गरेका हुन्। विगतका संघर्ष र आन्दोलनहरूबाट पनि जनताका न्यूनतम आवश्यकताहरू पूरा हुन नसकेको र पुराना शैलीबाट देश अगाडि बढ्न नसक्ने उनीहरूको ठहर छ।
विज्ञप्तिमा औपनिवेशिकताको अन्त्यविना लोकतन्त्र र शान्ति-समृद्धि सम्भव नरहेको उल्लेख गरिएको छ। मातृभूमिलाई सुहाउने वैचारिकी र बलियो अर्थतन्त्र निर्माणका लागि सामाजिक, सांस्कृतिक तथा आर्थिक चेतनाको विद्रोह आवश्यक रहेको विज्ञप्तिमा जनाइएको छ।
पार्टी छाडेका नेताहरूले अबको राजनीतिक यात्रा "हुंकार मधेश अभियान" मार्फत अगाडि बढाउने स्पष्ट पारेका छन्। उनीहरूले चाँडै नै समाजका विभिन्न क्षेत्रका योग्य व्यक्तिहरूलाई समेटेर विस्तृत योजना सार्वजनिक गर्ने जनाएका छन्।
