गायक रामकृष्ण ढकालले आफ्नो चरित्रहत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि 'केकाज अनलाइन नेपाल'का सञ्चालकले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। सामाजिक सञ्जालमार्फत आपत्तिजनक टिप्पणी गरेपछि कानुनी घेरामा पर्ने डरले उनले माफी मागेका हुन्।
बिहीबार ढकालले साइबर ब्युरोमा दुईवटा फेसबुक पेजविरुद्ध मानमर्दनको आरोपमा उजुरी दर्ता गराएका थिए। त्यसको लगत्तै, जापानमा रहेका ती सञ्चालकले भिडिओ सन्देश जारी गर्दै आफू आवेशमा आएर गल्ती गर्न पुगेको स्वीकार गरेका छन्।
उनले आफू हाल डिप्रेसनको समस्याबाट गुज्रिरहेको र तनावका कारण मदिरा सेवन गरेको अवस्थामा उक्त भिडिओ बनाएको स्पष्टीकरण दिएका छन्। उनले फेसबुकबाट कुनै आर्थिक लाभ नलिएको दाबी गर्दै आफ्नो परिवारको बिचल्ली हुने डर रहेको भन्दै १० औँला जोडेर माफी मागेका हुन्।
सञ्चालकले ढकालसँग सम्बन्धित सबै विवादित सामग्रीहरू हटाउन सुरु गरिसकेको जानकारी दिएका छन्। उनले आगामी दिनमा कसैको व्यक्तिगत जीवन वा राजनीतिक विषयमा गालीगलौज नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
यता साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले उजुरीमाथि प्राविधिक अनुसन्धान सुरु भइसकेको बताएका छन्। विद्युतीय कारोबार ऐनअनुसार सामाजिक सञ्जालमा कसैको इज्जतमा धक्का पुर्याउनु गम्भीर अपराध मानिने भएकाले यस मुद्दाको कानुनी प्रक्रिया अझै जारी रहने देखिएको छ।