भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा बागमती घाटमा विशेष श्रद्धाञ्जली तथा जल तर्पण कार्यक्रम सम्पन्न भएको छ। विपद्मा ज्यान गुमाएकाहरूप्रति राज्यले देखाएको उदासीन नीतिको विरोध गर्दै राष्ट्रिय एकता दलले पीडित परिवारका लागि उचित राहत र दीर्घकालीन पुनर्वासको जोडदार माग गरेको छ।
औँसीको पावन अवसरमा श्री पशुपतिनाथ मन्दिरको पूर्वी गेटस्थित बागमती किनारमा अपराह्न ४ बजे जल अर्पण कार्यक्रम आयोजना गरिएको थियो। उक्त अवसरमा सहभागीहरूले एक लोटा जल अर्पण गरी दिवङ्गत आत्माहरूको चिरशान्ति, सद्गति र मोक्षका लागि प्रार्थना गरे।

उक्त कार्यक्रममा दलका अध्यक्ष विनय यादव, केन्द्रीय नेताहरू तोयानाथ दाहाल, विनोद सिंह र पुस्ता लामा (पाथीभरा माता) लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विनय यादवले गत भदौ २२ गते सरकारले राष्ट्रिय शोक घोषणा गरे पनि सार्वजनिक बिदा नदिएर औपचारिकतामा मात्र सीमित भएको आरोप लगाउनुभयो। नागरिकको ज्यान जाँदा राज्यले पूर्ण सम्मान र संवेदना प्रकट गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो।
बाढीपहिरो प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुका साथै प्रत्येक वर्ष भदौ २२ गतेलाई भोटेकोशी बाढीका मृतकहरूको स्मरणमा राष्ट्रिय शोक र सार्वजनिक बिदाका रूपमा मनाउने वातावरण निर्माण गर्न दलले सरकारको ध्यानाकर्षण गराएको छ।