रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि जलविद्युत आयोजनाको लेदोले पुरिएको सुरुङभित्र जोखिमपूर्ण उद्धार कार्य जारी रहेको छ। यसै क्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्याफ्रुबेसीस्थित चिलिमे पुगेर स्थलगत अवस्थाको अवलोकन गरेका छन्।
नेपाली सेनासँग सहकार्य गर्दै भारतीय प्राविधिक टोलीले विशेष उपकरणको सहायतामा चिलिमे पावर हाउसको सुरुङभित्र उद्धार तथा उत्खनन कार्यलाई तीव्र बनाएको छ।
अत्यन्तै कठिन भूभाग र लेदोयुक्त हिलोका बाबजुद उद्धार टोली सुरुङभित्र १०० मिटरसम्म पुग्न सफल भइसकेको छ। अझ भित्री भागसम्म पुग्नका लागि भारी उपकरणहरू परिचालन गर्ने तयारी भइरहेको छ।
स्थलगत निरीक्षणपछि राजदूत श्रीवास्तवले प्राविधिक टोलीको हौसला बढाउँदै दुवै देशका सुरक्षा र प्राविधिककर्मीहरूले प्रतिकूल अवस्थामा पनि अविचलित भई उद्धार कार्य जारी राखेको बताए।
गत भदौ १० गते आएको बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेसीदेखि नुवाकोट, धादिङ, चितवन र गोरखासम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।
सुरुङभित्रको अवस्था थप खुलाउँदै उद्धार र पुनर्निर्माणलाई तीव्रता दिन प्राविधिक टोलीहरूको निरन्तर प्रयास जारी रहने देखिन्छ।