अत्यधिक सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताहरूले आफ्नो नयाँ र बहुप्रतिक्षित प्रोजेक्ट ‘रोल नम्बर १’ को टिजर सार्वजनिक गरेका छन्। युट्युबमार्फत सार्वजनिक गरिएको यो छोटो झलकले बालबालिकामाथि थोपरिने शैक्षिक प्रतिस्पर्धा र त्यसले निम्त्याउने मानसिक भारलाई मुख्य विषयवस्तु बनाएको छ।

चलचित्रले मध्यम वर्गीय परिवारको आर्थिक अभाव र बाबु–छोराबीचको भावनात्मक उतारचढावलाई मार्मिक रूपमा चित्रण गरेको देखिन्छ। बालबालिकाको सुनौलो भविष्यको खोजीमा अभिभावकले गर्ने संघर्ष र सोही क्रममा बालबालिकाले भोग्नुपर्ने दबाबलाई चलचित्रले मूल मुद्दा बनाएको छ।

जोन योञ्जनको निर्देशनमा तयार भएको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी र एभन राज उप्रेती लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। यसका साथै निर्विक रेग्मी, संयम कटुवाल र रिन्छेन लामा जस्ता बाल कलाकारहरूले चलचित्रको केन्द्रीय भावलाई अगाडि बढाएका छन्।

विनोद पौडेल र जान्वी पौडेलले निर्माण गरेको यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन्। शिवराम श्रेष्ठको छायांकन र मदन घिमिरेको सम्पादन रहेको यस चलचित्रमा उत्तम न्यौपानेको ध्वनी संयोजन र रोहित शाक्यको पार्श्व संगीत रहेको छ, जसले चलचित्रलाई प्राविधिक रूपमा पनि सबल बनाएको छ।

यसअघिको हिट चलचित्रको विरासत बोकेका कारण ‘रोल नम्बर १’ प्रति दर्शकको ठूलो अपेक्षा रहेको छ। यो चलचित्र आगामी जेठ १५ गते (मे २९) देखि देशभरका हलहरूमा प्रदर्शनका लागि तयार छ।