फागुन २९ देखि प्रदर्शनमा आउने चलचित्र ‘लालिमा’ मार्फत अभिनेत्री रोश्नी कार्कीले समाजको ओझेलमा रहेका जीवनकथालाई पर्दामा उतार्ने प्रयास गर्नुभएको छ। उक्त भूमिकालाई विश्वसनीय बनाउन उहाँले १० जना यौनकर्मीसँग प्रत्यक्ष भेटघाट गरी अनुभव संकलन गर्नुभएको जानकारी दिनुभएको छ।
चलचित्रमा उहाँले ‘लालिमा’ नामक यौनकर्मीको चरित्र निर्वाह गर्नुभएको छ। रङ्गमञ्च पृष्ठभूमिबाट आउनुभएकी कार्कीका लागि यो पहिलो पटक यस्तो भूमिका हो। पात्रको मनोविज्ञान र जीवनशैली बुझ्न वास्तविक जीवनका अनुभव आवश्यक ठानेर उहाँले तयारी गर्नुभएको बताउनुभयो।
निर्माण टोलीको समन्वयमा कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्मका १० जनासँग संवाद भएको उहाँले उल्लेख गर्नुभयो। भेटघाटका क्रममा अधिकांशले आर्थिक समस्याका कारण बाध्य भएर यो पेसा रोजेको बताएका थिए।
यौनकर्मीहरू आफ्नो पेशा सार्वजनिक गर्न नचाहने भएकाले प्रत्यक्ष सम्पर्क सहज नभएको अनुभव उहाँले साझा गर्नुभयो। तर चलचित्रको केन्द्रविन्दु नै उनीहरूको मानसिकता भएकाले नेपाली परिवेशअनुसारको मनोदशा बुझ्न संवादले सहयोग पुगेको उहाँको भनाइ छ।
आफूले निर्वाह गरेको भूमिका समाजमा लुकेर रहेका धेरै महिलाको भोगाइको प्रतिनिधित्व गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। कलाकारका रूपमा उनीहरूको आवाज बन्ने प्रयास गरेको भन्दै उहाँले यसबाट आत्मसन्तुष्टि पाएको बताउनुभएको छ।