काठमाडौं — सामसङ नेपालले डिजिटल सीप विकासमार्फत नेपाली युवाहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम सुरु गर्ने घोषणा गरेको छ। यसअघि सञ्चालित सामसङ इनोभेसन क्याम्पस (एसआईसी) अन्तर्गतको कोडिङ तथा प्रोग्रामिङ पाठ्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि नयाँ कार्यक्रमको आवेदन खुला गरिएको हो।

सन् २०२५ डिसेम्बर २२ देखि २०२६ जुन ३० सम्म सञ्चालित ६ महिना लामो कोडिङ पाठ्यक्रमका सहभागीहरूलाई एक समारोहका बीच दिक्षान्त प्रमाणपत्र प्रदान गरियो। उक्त तालिमले प्रशिक्षार्थीहरूलाई व्यावहारिक ज्ञान, प्राविधिक अनुभव र उद्योगसँग प्रत्यक्ष जोडिने अवसर प्रदान गरेको छ।

विभिन्न क्षेत्रमा एआईको प्रयोग बढ्दै गएको अवस्थामा युवाहरूलाई प्रविधियुक्त बनाउनु अपरिहार्य रहेको सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले बताए। नेपालका युवाहरूमा रहेको प्रतिभालाई व्यावहारिक उपलब्धिमा बदल्न र देशको डिजिटल भविष्यलाई नेतृत्व प्रदान गर्न यो पहल महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।

सामसङले सन् २०२३ देखि आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम "टुगेदर फर टुमोरो! इनेबलिङ पिपुल" अन्तर्गत यो अभियान सञ्चालन गर्दै आएको छ। प्राविधिक ज्ञानका साथै सञ्चार, सहकार्य र समालोचनात्मक सोच जस्ता आधारभूत कार्यस्थल सीप विकासमा पनि जोड दिइएको छ।

तालिमपश्चात् पनि सहभागीहरूलाई सामसङका विज्ञहरूबाट क्यारियर परामर्श र मेन्टरसिप उपलब्ध गराइने जनाइएको छ। यसका साथै, पुराना र नयाँ विद्यार्थीहरूबीच आपसी सिकाइ जारी राख्न सामसङ इनोभेसन क्याम्पस आलम्नाई नेटवर्क स्थापना गर्ने योजना पनि सामसङ नेपालले बनाएको छ।