रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशको सम्पूर्ण विद्युत् प्रणालीमा गम्भीर संकट उत्पन्न भएको छ। बाढीका कारण कुल राष्ट्रिय उत्पादन क्षमताको करिब १० प्रतिशत बिजुली आपूर्ति ठप्प बनेको छ।
प्रारम्भिक आँकडा अनुसार ४३१.१ मेगावाट विद्युत् उत्पादन गर्ने १२ वटा चालु केन्द्रहरू पूर्ण रूपमा ठप्प भएका छन्। यसबाहेक, निर्माणाधीन अवस्थामा रहेका थप १५ वटा जलविद्युत् आयोजनामा समेत भौतिक क्षति पुगेको छ, जसको क्षमता करिब ४७० मेगावाट रहेको थियो।
बाढीले विद्युत् गृहका साथै प्रसारण पूर्वाधारमा समेत भयानक क्षति पुऱ्याएको छ। मुख्य त्रिशूली २२० केभी ३बी हब सबस्टेसन ध्वस्त हुनुका साथै १३२, ६६ र २२० केभी क्षमताका प्रसारण लाइन तथा टावरहरू ढलेका छन्। यसले गर्दा रसुवा जिल्लाभर विद्युत् आपूर्ति ठप्प छ भने नुवाकोट, धादिङ र गोरखामा आंशिक रूपमा सेवा प्रभावित भएको छ।
यस जलविपत्तिमा विभिन्न आयोजना स्थलमा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा श्रमिकहरूसँग सम्पर्क विच्छेद भएको छ। उनीहरूको सुरक्षित खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायलाई व्यापक रूपमा परिचालन गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणले १५ भन्दा बढी सवारीसाधन, उद्धार टोली र प्राविधिक समूहहरू प्रभावित क्षेत्रमा खटाएको छ। हाल वैकल्पिक माध्यमबाट बिजुली सुचारु गर्ने र अवरुद्ध सेवालाई लयमा फर्काउने प्रयास भइरहेको छ।
हालसम्मको प्रयासबाट राष्ट्रिय ग्रिडलाई सन्तुलनमा राखिए पनि आगामी दिनमा थप प्रणालीगत चुनौतीहरू थपिन सक्ने भन्दै प्राधिकरणले पुनरोत्थान तथा मर्मत कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने जनाएको छ।