विश्लेषक प्रा डा सुरेन्द्र केसीले संविधान संशोधनभन्दा चरित्र संशोधन अहिलेको नेपालको मुख्य आवश्यकता भएको बताउनुभएको छ। राष्ट्रिय प्रेस क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर सामाजिक सञ्जालको दबाबमा खारेज गरेको प्रसंग उठाउँदै अर्थमन्त्रीको औचित्यमाथि प्रश्न उठाउनुभयो। पढेलेखेका व्यक्तिले कर नीतिमै गल्ती गर्नु दुःखद भएको उल्लेख गर्दै उहाँले नयाँ दलाई लामाको घोषणा नेपालमा भए गम्भीर भूल हुने र हर्क साम्पाङको अभिव्यक्तिले धार्मिक सहिष्णुतामा असर पर्न सक्ने चेतावनी दिनुभयो।
आज कुनै नेपालीले नेपालमा भविष्य नदेखिरहेको धारणा व्यक्त गर्दै उहाँले संघीयतावादी र पहिचानवादी शक्तिहरूको प्रभाव घटेको तथा बालेन शाह व्यक्तिवादी चरित्रका कारण लोकप्रिय बनेको दाबी गर्नुभयो। क्षेत्रीय सन्दर्भमा दक्षिण एसियामा शक्ति सन्तुलन खलबलिन सक्ने र एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाइएको विषय स्पष्ट हुन बाँकी रहेको बताउँदै उहाँले चीनसँगको सम्बन्धमा अनावश्यक तनाव सिर्जना गर्नु बुद्धिमानी नहुने उल्लेख गर्नुभयो।
यसैबीच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको भनिएको बेथितिविरुद्ध जारी आन्दोलनलाई थप सशक्त बनाउँदै आन्दोलनकारीहरूले संसदीय छानबिन समिति गठनको माग गरेका छन्। राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा अभियन्ता प्रज्वल श्रेष्ठले ९२ दिनदेखि जारी हस्ताक्षर अभियानमा ९ हजार ५०० भन्दा बढी हस्ताक्षर संकलन भइसकेको जानकारी दिँदै प्रतिष्ठानमा नीतिगत भ्रष्टाचार चरम अवस्थामा पुगेको आरोप लगाउनुभयो। उहाँले १४ वर्षदेखि एमआरआई मेसिन सञ्चालनमा नआएको, उपकुलपति नियुक्तिमा भ्रष्टाचार भएको र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्ने माग राख्नुभयो।
अर्की अभियन्ता सरिस्मा थापाले स्वास्थ्य मन्त्रालयको अनुमति हुँदाहुँदै गृह मन्त्रालयले हस्ताक्षर अभियान रोकेको, आफू र मजिद अन्सारीलाई ओजस्वी थापाको निर्देशनमा पक्राउ गरी कुटपिट गरिएको र गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन नभएको आरोप लगाउनुभयो। उहाँले युवालाई राजनीति सिकाउने उद्देश्यले 'द रेड च्याप्टर' स्थापनाको घोषणा गर्दै आन्दोलनकारीहरूले प्रतिष्ठानको अनियमितता छानबिनका लागि संसदीय समिति गठनको माग दोहोर्याएका छन्।