दक्षिणी अमेरिकाको पानामामा सनातन परम्परा र वैदिक अध्यात्मको विश्वव्यापी सान्दर्भिकताबारे एक महत्त्वपूर्ण वैचारिक आदानप्रदान सम्पन्न भएको छ। जूना अखाडाका प्रसिद्ध संन्यासी तथा आध्यात्मिक मार्गदर्शक स्वामी रामात्मानन्द गिरी जी महाराज र पानामाका प्रतिष्ठित व्यवसायीहरूबीचको भेटघाटमा योग, ध्यान र मानव कल्याणका विषयमा गहन छलफल भएको हो।
आफ्नो अन्तर्राष्ट्रिय प्रवासका क्रममा पानामा शहर पुग्नुभएका स्वामी रामात्मानन्द गिरीलाई भी.आई.पी. हाउजिङ तथा बन्दरगाह क्षेत्रका प्रमुख व्यवसायी पेप फ्रेडम्यान र भी.आई.पी. हाउजिङकी मुख्य कार्यकारी अधिकृत (सीइओ) एलीना ए. डी. फ्रेडम्यानले आफ्नो निवासमा आत्मीय स्वागत गर्नुभयो। स्वागतका क्रममा उहाँहरूले महाराजजीलाई पुष्पगुच्छ अर्पण गर्दै सम्मान व्यक्त गरेका थिए।
भेटघाटका क्रममा उद्योगीहरूले महाराजजीलाई आफ्नो कार्यक्षेत्र र व्यवसायको अवलोकन गराएका थिए। सो अवसरमा भारतीय संस्कृति, ध्यान, योगको विश्वव्यापी महत्त्वका साथै मानव जीवनमा आत्मिक उन्नति, शान्ति र सद्भाव कायम राख्ने उपायबारे अर्थपूर्ण संवाद भएको थियो।
विश्वभर सनातन चेतना र ध्यान साधनाको सन्देश फैलाउने क्रममा भएको यो अन्तर्राष्ट्रिय संवादले विभिन्न महाद्विपहरूमा आध्यात्मिक चिन्तन र सांस्कृतिक आदानप्रदानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।