नेपालको पछिल्लो राजनीतिक परिवर्तन र बालेन्द्र शाह देशकै सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा निर्वाचित भएसँगै अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरबाट विशेष चासो व्यक्त भएको छ। सेन्ट्रल टिबेटन एडमिनिस्ट्रेसन (निर्वासित तिब्बती सरकार) र बलोचिस्तान रिपब्लिकका नेतृत्वले नवनियुक्त प्रधानमन्त्री शाह र उनको मन्त्रिपरिषद्लाई औपचारिक रूपमा बधाई दिँदै यस ऐतिहासिक कदमले युवा आकांक्षाको प्रतिनिधित्व गरेको बताएका छन्।

तिब्बती समुदायका तर्फबाट सिक्योङ पेन्पा छिरिङले जारी गरेको सन्देशमा जेन-जी (Gen-Z) आन्दोलनपछि उदाएका शाहको नेतृत्वलाई सकारात्मक परिवर्तनको परिचायक मानिएको छ। मार्च २७, २०२६ मा सपथ ग्रहण गरेका प्रधानमन्त्रीलाई पठाइएको उक्त पत्रमा नेपाल र तिब्बतबीचको गहिरो ऐतिहासिक तथा आध्यात्मिक सम्बन्धको स्मरण गरिएको छ। साथै, शरणार्थीका रूपमा रहेका तिब्बतीहरूलाई आश्रय दिएकोमा नेपाल सरकारप्रति कृतज्ञता प्रकट गर्दै, उनीहरूले नेपालको सामाजिक-आर्थिक क्षेत्रमा पुर्‍याएको योगदान र आफ्नो पहिचानको संरक्षणबारे पनि उल्लेख गरिएको छ।

ADVERTISEMENT Nepal Aaja Register

यसैगरी, नेपालमा रहेको बलोच समुदायको तर्फबाट रिपब्लिक अफ बलोचिस्तानले पनि नयाँ सरकारलाई शुभकामना सन्देश पठाएको छ। उक्त सन्देशमा पारस्परिक सम्मान, सहकार्य, र शान्ति तथा विकासका साझा आकांक्षाहरूमा आधारित रहेर नेपालसँग बलियो कूटनीतिक सम्बन्ध स्थापना गर्ने चाहना व्यक्त गरिएको छ।

युवा नेतृत्वको उदयसँगै प्राप्त यी अन्तर्राष्ट्रिय शुभकामना सन्देशहरूले नेपालको आगामी कूटनीतिक यात्रा र क्षेत्रीय सम्बन्धमा नयाँ आयाम थपिने र पारस्परिक मित्रता अझै प्रगाढ हुने संकेत गरेका छन्।