रूपन्देही–२ बाट स्वतन्त्र उम्मेदवार बनेका डा. निकोलस भुसालका पिता तुलसीकुमार भुसालले आफ्नो छोरा “मेरो मात्र होइन, देशको छोरा” भएको बताएका छन्। छोटो अन्तर्वार्तामा उनले देशको विकृति, विसंगति र कुशासनविरुद्ध लड्दै जेन–जी आन्दोलनका माग पूरा गर्न ११ दिनसम्म आमरण अनसन बसेको उल्लेख गरे।
तुलसीकुमार भुसालले चुनावको दिशा अझै स्पष्ट नभएको भन्दै परिणाम मतदान नभएसम्म अनिश्चित रहेको धारणा व्यक्त गरे। केही समूहले चुनाव गराउनुपर्ने र केहीले रोक्नुपर्ने भन्दै बहस भइरहेकाले चुनावी वातावरण संकास्पद रहेको उनले बताए।
नयाँ र पुराना उम्मेदवारमध्ये कसलाई भोट दिने भन्ने प्रश्नमा उनले जेन–जी आन्दोलनका मागलाई आत्मसात गर्ने नयाँ नेतृत्वलाई समर्थन गर्नुपर्ने बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार, शिक्षा र स्वास्थ्यमा सर्वसुलभ पहुँचजस्ता एजेन्डा अघि सारिएको उनले बताए।
सैना मैना–१ र बुटवल क्षेत्रमा सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या गम्भीर रहेको उल्लेख गर्दै दशकौंदेखि लालपुर्जा दिने वाचा पूरा नभएको आरोप लगाए। उनले किसानका उत्पादनको बजार अभाव, सिँचाइ समस्या, उद्योग व्यवसायको कठिनाइ र युवाको पलायनलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे।
डा. निकोलस भुसालविरुद्ध लगाइएका गाजा प्रयोगलगायतका आरोपबारे उनले ती आरोप असत्य भएको दाबी गरे। उनले आफ्नो छोरा एमडी मनोचिकित्सक भएको र कुलतमा परेका व्यक्तिहरूलाई सुधारमा सहयोग गर्दै आएको बताए। भावावेशमा केही कडा शब्द प्रयोग भएको हुनसक्ने स्वीकार गर्दै उनले नियत सफा रहेको दाबी गरे।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एजेन्डामा सहमति नभएकाले स्वतन्त्र रूपमा चुनाव लडेको स्पष्ट पारे। “जुत्ता” चुनाव चिह्नबाट लड्दै संसदमा गएर सुधारका मुद्दा उठाउने योजना रहेको उनले बताए।
अन्त्यमा उनले चुनाव सम्पन्न भई स्थिर सरकार बने परिवर्तन सम्भव हुने आशा व्यक्त गरे र मतदातालाई एजेन्डा स्पष्ट गरेर मतदान गर्न आग्रह गरे।