नेपाली उपभोक्ता बजारमा युवापुस्तालाई लक्षित गरी सामाजिक सञ्जालका भिडियो, सडकका विशाल होर्डिङ बोर्ड, टेलिभिजन र सञ्चार माध्यममा दैनिक १० पटकभन्दा बढी देखिने गरी आक्रामक बजारीकरण भइरहेको ‘xTreme’ इनर्जी ड्रिंक विवादमा तानिएको छ। हाल चलिरहेको फिफा विश्वकप फुटबल २०२६ लाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘स्क्यानमा सुन’ नामक उपहार योजना कानुनी र नैतिक विवादको घेरामा परेको हो।

एग्रो थाई फुड्स प्रा. लि. द्वारा उत्पादित यस ब्रान्डले जेठ १ गतेदेखि विश्वकपको खेल अवधिभर सञ्चालन गर्ने गरी ३ जना भाग्यशाली विजेतालाई जनही बहुमूल्य 'सुनको बल' (Golden Ball) प्रदान गर्ने घोषणा गरेको छ। योसँगै उपभोक्ता अधिकारकर्मी र जनस्वास्थ्य विज्ञहरूले यसलाई व्यापारिक दाउपेचका लागि गरिएको भ्रमपूर्ण र असम्भव विज्ञापनको पराकाष्ठा भन्दै गम्भीर आपत्ति जनाएका छन्।

विश्वकप फुटबलमा प्रदान गरिने प्रतिष्ठित ट्रफी वा फुटबलको आकारमा ठूलो परिमाणको वास्तविक सुन नै दिने प्रकृतिको यो प्रचारवाजी उपभोक्तालाई प्रलोभनमा पार्ने फण्डा मात्र भएको विज्ञहरूको ठहर छ। अस्वस्थकर पेय पदार्थको अत्यधिक उपभोग गराउने यो सरासर 'Peak of False Advertisement' हो। प्राविधिक रूपमै सम्भव नहुने यति ठूलो पुरस्कारको उधारो गफ दिनुको सट्टा कम्पनीले पारदर्शी रूपमा 'फुटबल टो' (Football toe) वा निश्चित तोकिएको वजन स्पष्ट खुलाउनुपर्ने भन्दै बजारमा व्यापक आलोचना सुरु भएको छ।

जसरी यो ड्रिंक पिउँदा शरीरमा चिनीको मात्रा अचानक अत्यधिक रूपमा 'स्पाइक' हुन्छ, त्यसरी नै मिडिया क्षेत्रमा यसको विज्ञापन नियोजित रूपमा 'स्पाइक' गराइएको छ। यसले सर्वसाधारणमा यो ड्रिंक आपत्कालीन ऊर्जा संवर्द्धनका लागि मात्र नभएर दैनिक भोजन ‘दाल भात तरकारी’ जस्तै नियमित उपभोग गर्न मिल्ने पेय पदार्थ हो कि भन्ने भयानक भ्रम खडा गरेको छ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार एउटा ३३० एमएलको क्यानमा लगभग ३६ देखि ४० ग्राम चिनी हुन्छ, जुन विश्व स्वास्थ्य सङ्गठनको दैनिक मापदण्डभन्दा डेढ गुणा बढी हो। यसका साथै यसमा १.५ सर्ट कडा अमेरिकानो कफी बराबरको ९९ एमजी सिन्थेटिक क्याफिन रहने हुँदा यसको अत्यधिक सेवनले गम्भीर रोगहरू निम्त्याउँछ। यसले टाइप-२ डाइबिटिज, उच्च रक्तचाप, मुटुको चाल अनियन्त्रित हुने, अचानक मुटु बन्द हुने, कलेजोमा बोसो जम्ने, अनिन्द्रा र गम्भीर डिप्रेसन जस्ता स्वास्थ्य समस्या पैदा गर्छ।

यति मात्र नभई यस ड्रिंकमा मिसाइने कृत्रिम रङ र प्रिजर्भेटिभहरूको नियमित सम्पर्कले पाचन प्रक्रिया बिगार्ने र क्यान्सरको जोखिम बढाउने प्रमाणित भइसकेको छ। बालबालिका, गर्भवती र स्तनपान गराउने महिलाका लागि त यसमा भएको रासायनिक कम्बिनेसन 'विषाक्त' मानिन्छ, जसले गर्भपतन हुने वा समय अगावै अपाङ्ग बच्चा जन्मने भयावह स्थिति उत्पन्न गराउन सक्छ।

यो गम्भीर जनस्वास्थ्यको विषय नेपालको वर्तमान फितलो कानुनी संरचनाको छिद्र (Loophole) लाई दुरुपयोग गर्दै सञ्चालन भइरहेको व्यावसायिक विकृति हो। जनस्वास्थ्य सेवा ऐन र विज्ञापन बोर्डको निर्देशनले रक्सी र सुर्तीजन्य पदार्थलाई हानिकारक ठहर गर्दै पूर्ण प्रतिबन्ध लगाए पनि इनर्जी ड्रिंकलाई सोही श्रेणीमा राखिएको छैन। फलस्वरुप यसले सामाजिक रूपमा स्वीकृत लागूऔषधको रूप लिएको छ।

विज्ञापन (नियमन) ऐनले विज्ञापनहरू 'झुटो वा भ्रामक' हुन नहुने व्यवस्था गरे पनि यी ब्रान्डहरूले कानुनलाई छल्दै आएका छन्। क्यानको पछाडि १ मिलिमिटरको फन्टमा बालबालिका र गर्भवतीले खान नहुने चेतावनी लुकाएर सडकमा ५0 फिटका विज्ञापन र मिडियामा निरन्तर बमबारी भइरहेको छ। यसले युवा मस्तिष्कमा चुरोट जस्तै डोपामिन र क्याफिन डिपेन्डेन्सीको लत बसाइरहेको छ।

स्थानीय तहबाट इजाजत लिएर होर्डिङ बोर्ड राख्न पाउने र सामाजिक सञ्जालमा विज्ञापनको फ्रिक्वेन्सी तोक्ने कुनै स्पष्ट सीमा नभएका कारण बजारमा रासायनिक पेय पदार्थ हाबी भइरहेको छ। अब राज्यस्तरबाटै अल्कोहल र सुर्तीजन्य पदार्थ सरह इनर्जी ड्रिंकका यस्ता भ्रमपूर्ण र चरम प्रलोभन देखाउने विज्ञापनमाथि पूर्ण प्रतिबन्ध वा बालबालिकाको पहुँच हुने समयमा प्रसारण रोक्ने कडा संशोधन प्रोटोकल जारी गर्न ढिला भइसकेको छ।