काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा हालै आफ्नै अभिव्यक्ति र पुराना सामाजिक सञ्जाल पोस्टका कारण तीव्र विवाद र सार्वजनिक आलोचनाको घेरामा परेका छन्। तराई-मधेसमा भड्किएको साम्प्रदायिक तनावका बीच आफ्नै पार्टी कार्यकर्तालाई दिएको कडा चेतावनी र काठमाडौँस्थित अवैध रोहिंग्या शरणार्थी शिविरलाई विगतमा दिएको संरक्षणको विषय एकाएक सतहमा आएपछि उनीमाथि गम्भीर प्रश्न उठेको छ।
सभापति गगन थापा महामन्त्री भएको बेला रोईङ्गालाई संरक्षण गर्नु भएको थियो। हाल उहाँ सभापति हुनुहुन्छ। आफ्ना कार्यकर्ताप्रति कठोर बन्ने तर गैर-कानुनी शरणार्थीप्रति विशेष सहानुभूति राख्ने उहाँको यो नीतिको अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ।
तराईको तनाव र सभापति थापाको ‘आक्रामक’ निर्देशन
सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटना र त्यसपछि मधेसका विभिन्न स्थानमा सिर्जना भएको तनावपूर्ण स्थितिलाई लिएर सभापति थापाले आक्रामक राजनीतिक कदम चालेका छन्। उनले मधेस प्रदेश, सुनसरी, मोरङ लगायत प्रभावित क्षेत्रका केन्द्रीय, प्रदेश तथा जिल्लाका पार्टी साथीहरू, मधेस प्रदेशका मुख्यमन्त्री, सांसद र स्थानीय प्रतिनिधिहरूसँग भर्चुअल बैठक आयोजना गरेका थिए।
उक्त बैठकमा प्रदेश तथा स्थानीय सरकार र पार्टी समितिहरूले गर्नुपर्ने कामबारे स्पष्ट निर्देशन दिँदै थापाले तराईमा हिन्दु आन्दोलन वा कुनै पनि साम्प्रदायिक मुभमेन्टमा लाग्ने पार्टी कार्यकर्तालाई सिधै पार्टीबाट निकाल्नेसम्मको चेतावनी दिएका छन्। पार्टीभित्र अनुशासन र सामाजिक सद्भाव कायम राख्ने नाममा आफ्नै हिन्दुवादी तथा स्थानीय कार्यकर्ताप्रति यति कठोर बनेका थापाको यो कदमले पार्टीभित्रै असन्तोष जन्माएको छ।
सन् २०२० को त्यो पोस्ट: रोहिंग्याप्रति देखाएको ‘विशेष’ सहानुभूति
आफ्ना कार्यकर्तालाई कारबाहीको धम्की दिने थापाको मार्च २९, २०२० मा सार्वजनिक भएको एउटा पुरानो फेसबुक स्ट्याटस अहिले सामाजिक सञ्जालमा पुनः भाइरल बनेको छ।
त्यस समयमा थापाले लेखेका थिए:
"कपनस्थित रोहिंग्या शिविरमा खाद्यान्न सामग्री आपूर्तिमा सहयोग गर्नुभएकोमा डा. ल्हामो वाइ शेर्पा र आइपास नेपालको टोलीलाई धन्यवाद। संकटको यस समयमा यी परिवारहरूलाई तपाईंले गर्नुभएको योगदानको हामी हार्दिक कदर गर्दछौं।"
काठमाडौँ क्षेत्र नम्बर ४ (जुन गगन थापाको आफ्नै निर्वाचन क्षेत्र हो) अन्तर्गत पर्ने कपनमा बसोबास गर्दै आएका रोहिंग्या शरणार्थीहरूलाई राहत पुर्याउने संस्थालाई धन्यवाद दिइएको यो पोस्टले अहिले नयाँ तरंग पैदा गरेको छ।
सामाजिक सञ्जालमा उठेका गम्भीर प्रश्न र जनआक्रोश
यो पुरानो पोस्ट भाइरल भएसँगै सामाजिक सञ्जालमा सर्वसाधारण तथा राजनीतिक विश्लेषकहरूले थापामाथि प्रश्नको वर्षा गराइरहेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ता पुष्प राज पुरुषले थापाको पोस्ट सेयर गर्दै लेखेका छन्:
"ए रोईङ्गा त यसरी पो राखिएको .? राज्यले निगरानीमा राख्नु पर्यो।"
अहिले सामाजिक सञ्जालमा प्रमुख रूपमा निम्न प्रश्नहरू उठाइएका छन्:
निर्वाचन क्षेत्र र शरणार्थी भेट: के रोहिंग्याहरूलाई गगन थापाले नै आफ्नो निर्वाचन क्षेत्र कपनमा राजनीतिक संरक्षण दिएर राखेका हुन्?
सरकारको भूमिकामा शङ्का: नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री बनेको समयमा तत्कालीन महामन्त्री थापाको निर्देशन र संरक्षणमा सरकारले नै रोहिंग्याहरूलाई सहयोग पुर्याएको हो?
राजनीतिक दोहोरो चरित्रको गम्भीर आरोप
गगन थापामाथि आफ्नै देशका धार्मिक, सांस्कृतिक तथा स्थानीय मुद्दामा आवाज उठाउने आफ्ना कार्यकर्तालाई निष्कासनको धम्की दिने, तर राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील मानिएका विदेशी रोहिंग्या शरणार्थीहरूलाई भने सधैँ संरक्षण र प्रवर्द्धन गर्ने गरेको आरोप लागेको छ।
तराईमा सद्भावको दुहाइ दिँदै आफ्ना कार्यकर्ता सेक्ने सभापतिले विदेशी शरणार्थीप्रति देखाएको यो अस्वाभाविक ‘उदारता’ केवल मानवीय सहयोग मात्र थियो कि यसको पछाडि कुनै रणनीतिक स्वार्थ लुकेको छ? यसको स्पष्ट जवाफ अहिले आम नागरिक र कांग्रेसका निष्ठावान् कार्यकर्ताहरूले खोजिरहेका छन्।