तापक्रममा भएको वृद्धि सँगै रूपन्देहीको मधवलियास्थित खाद्य उद्योगले आफ्ना उत्पादनहरूको गुणस्तर सुरक्षित राख्न सरोकारवालाहरूका लागि सार्वजनिक सूचना जारी गरेको छ।
यशोदा फुड्स प्रा. लि. ले बजारका पसल तथा काउन्टरहरूमा राखिने सामग्रीहरू चर्को घामका कारण बिग्रन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। अत्यधिक गर्मीले खाद्य सामग्रीको मौलिक गुणस्तरमा ह्रास आउने भएकाले उचित व्यवस्थापन आवश्यक रहेको उद्योगले जनाएको छ।

गुणस्तर संरक्षणका लागि उद्योगले सम्पूर्ण थोक तथा खुद्रा विक्रेताहरूलाई आफ्ना उत्पादनहरू घाम र पानीबाट जोगिने सुरक्षित स्थानमा मात्र भण्डारण गर्न अनुरोध गरेको छ। नेपाली उत्पादनलाई विश्व बजारमा उत्कृष्ट पहिचान दिलाउन व्यवसायीहरूको यस्तो सहयोग अपरिहार्य रहने उद्योगको भनाइ छ।
रोजगारी सिर्जना र आर्थिक योगदानका हिसाबले यो उद्योग मुलुककै एउटा मुख्य खम्बाको रूपमा स्थापित छ। यसले हजारौँ नागरिकलाई प्रत्यक्ष रोजगारी दिनुका साथै कृषि क्षेत्रको प्रवर्द्धन र विश्वका २२ भन्दा बढी देशमा निर्यात गरी विदेशी मुद्रा आर्जनमा सघाइरहेको छ।
बजार व्यवस्थापन सँगसँगै उद्योगले आम उपभोक्ताहरूका लागि पनि सचेतना सन्देश प्रवाह गरेको छ। उपभोक्ताहरूले सामग्री खरिद गरी उपभोग गर्नुअघि अनिवार्य रूपमा उत्पादन मिति र म्याद समाप्त हुने मिति जाँच गर्नुपर्नेमा जोड दिइएको छ।
गुणस्तर, स्वाद र ग्राहक सन्तुष्टिलाई मुख्य लक्ष्य बनाएको यस संस्थाले आगामी दिनमा पनि सरोकारवालाहरूकै सहकार्यबाट उत्पादनको साख जोगाइराख्ने प्रतिबद्धता जनाएको छ।