सशस्त्र प्रहरी बल नेपालले वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मूल गेटबाट प्रतिबन्धित लागुऔषधसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। वैशाख २६ गते सीमा सुरक्षा गुल्म पर्साको विशेष टोलीले विशेष तालिमप्राप्त कुकुरको सहयोगमा उक्त सफलता प्राप्त गरेको हो।

पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–११ का २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पुजा जिम्बा रहेका छन्। उनीहरू भारतबाट नेपालतर्फ यात्रुवाहक अटोमा आउँदै गर्दा सुरक्षा जाँचमा परेका थिए।

सशस्त्र प्रहरीको ड्रग्स डिटेक्सन ट्रेडको कुकुरले शंका गरेपछि गरिएको खानतलासीका क्रममा उनीहरूको साथबाट ५ ग्राम ब्राउन सुगर र ०.३४ मिलिग्राम सेतो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

ADVERTISEMENT Nepal Aaja Register

पक्राउ परेका दुवै जनालाई थप कानुनी प्रक्रिया र अनुसन्धानका लागि बरामद लागुऔषधसहित नेपाल प्रहरीको जिम्मा लगाइएको छ। सीमा क्षेत्रमा बढ्दो अवैध ओसारपसार रोक्न प्रविधिको साथै तालिमप्राप्त जनावरको प्रयोगलाई तीव्रता दिइएको छ।

सशस्त्र प्रहरीको यो सक्रियताले सीमा नाकामा हुने आपराधिक गतिविधि नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।