संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित ताज बिजनेश बेमा आयोजित 'दीप उत्सव २०२६' का क्रममा उत्तर प्रदेशको आर्थिक तथा औद्योगिक रूपान्तरणको विषयले प्राथमिकता पाएको छ। इन्डियन पिपल्स फोरम (आईपीएफ) उत्तर प्रदेश काउन्सिलद्वारा अक्टोबर २५ मा आयोजित उक्त समारोहमा जेवरका विधायक धीरेंद्र सिंहले मुख्य अतिथि तथा अनूपशहरका विधायक संजय शर्माले विशिष्ट अतिथिका रूपमा सहभागिता जनाएका थिए।

समारोहमा विधायक धीरेंद्र सिंहले मुख्यमन्त्री योगी आदित्यनाथको शुभकामना सन्देश वाचन गर्दै खाडी क्षेत्रमा कार्यरत प्रवासी व्यवसायी तथा उत्तर प्रदेशका नागरिकहरूलाई आफ्नो मातृभूमिमा लगानी बढाउन औपचारिक आह्वान गरे। विगतको प्रशासनिक अव्यवस्था र पछौटेपनको पहिचानलाई बदल्दै उत्तर प्रदेश अहिले सुदृढ कानुन व्यवस्था र विश्वस्तरीय पूर्वाधारका कारण देशकै प्रमुख औद्योगिक गन्तव्य बनेको दाबी सिंहले गरे। यस क्रममा उनले जेवरमा निर्माणाधीन नोइडा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रदेशको आधुनिक पूर्वाधार विकासको मुख्य प्रतीकका रूपमा प्रस्तुत गरे।

विदेशमा रहेका प्रवासी भारतीय समुदायलाई आफ्नो संस्कृतिका सच्चा दूतका रूपमा चित्रण गर्दै विधायक सिंहले प्रवासीहरूको अनुभव, पुँजी र सीपले उत्तर प्रदेशलाई अग्रणी अर्थतन्त्र बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा उत्तर प्रदेशको विकास र जनसेवामा उल्लेखनीय योगदान पुर्याएबापत विधायक धीरेंद्र सिंह र विधायक संजय शर्मालाई 'उत्तर प्रदेश गौरव सम्मान' प्रदान गरियो। उक्त सम्मान आईपीएफका राष्ट्रिय महासचिव राजीव रञ्जनले हस्तान्तरण गरेका थिए।

आईपीएफका प्रतिनिधिहरू महेश सिंह, बी.एस. चौहान, सुधीर त्रिपाठी, निधि शर्मा र रिचा गौतम लगायत ठूलो संख्यामा उपस्थित प्रवासीहरूको सहभागिता रहेको सो समारोहमा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो।