पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित शङ्कराचार्य गेटबाट ठुलो परिमाणमा लागु औषधसहित आठ जनालाई नियन्त्रणमा लिएको छ। लागु औषध सेवनकर्ता खोजी एवम् सुधार महाअभियान अन्तर्गत भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री र सवारी साधन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेहरूमा २७ वर्षीय विकाश कुमार साह, २३ वर्षीय कबिन पराजुली, २० वर्षीय सागर घिमिरे, २३ वर्षीया पुजा जिम्वा, २९ वर्षीय अन्जन थापा, १९ वर्षीय रमेश बम्जन, ३७ वर्षीय राजु बानिया र ५२ वर्षीय अलिहदन मियाँ रहेका छन्।

ADVERTISEMENT Xtreme - Inside

प्रहरीले उनीहरूको साथबाट खैरो हिरोइन, सेतो हिरोइन र ५३–५३ पिस प्रतिबन्धित ट्याब्लेट बरामद गरेको छ। साथै, तस्करीमा प्रयोग गरिएको म.प्र.०३–०२८ प ७६५६ नम्बरको मोटरसाइकल समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबै व्यक्तिहरूलाई लागु औषध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। सम्मानित पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि विस्तृत सोधपुछ र थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी विज्ञप्तिमा उल्लेख छ।