पोखराको फेवातालमा सोमबार अचानक आएको हावाहुरी र तालको छालका कारण काठको डुङ्गामा सवार पाँच जना भारतीय पर्यटकहरु संकटमा परेका थिए । पोखरा महानगरपालिका–२२ स्थित पुम्दी भुम्दी लेकहाउस नजिकै तालको बीचमा फसेका उनीहरुलाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएका पर्यटकमध्ये ललिता केम्बागी, यल्लेसा, प्रविणा काले, भास्कर यल्लेसा काले र नीलकंक्षा रहेका छन् । वैशाख २४ गतेको यो घटनामा हावाहुरीले डुङ्गालाई नियन्त्रण बाहिर पुर्‍याएपछि उनीहरु तालमा अलपत्र परेका थिए ।

घटनाको जानकारी पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरमा तैनाथ सशस्त्र प्रहरीको टोली सक्रिय भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको उद्धार टोलीले तत्काल घटनास्थलमा पुगेर पर्यटकहरुलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको हो ।

सशस्त्र प्रहरीको तदारुकताका कारण ठुलो दुर्घटना हुनबाट जोगिएको छ । पोखराका तालहरुमा सयर गर्ने पर्यटकहरुका लागि मौसमको प्रतिकुलतालाई ध्यान दिँदै सुरक्षा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।