जिल्ला प्रहरी कार्यालय पर्साले सवारी ज्यान मुद्दामा २१ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी प्रेस विज्ञप्ति अनुसार पर्सागढी नगरपालिका वडा नं. ५ निवासी ४७ वर्षीय दिनेश प्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आज बिहान ८:०० बजे उनकै घरबाट पक्राउ गरेको हो।

घटनाको विवरण अनुसार वि.सं. २०६२ साल मंसिर १५ गते दिउँसो वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित चिनीमिल आवास क्षेत्र अगाडि यादवले चलाएको ना. ३ प ६३६२ नम्बरको मोटरसाइकलले पैदल यात्री कालिका सिंह राजपुतलाई ठक्कर दिएको थियो। दुर्घटना लगत्तै चालकले आफ्नो सवारी साधन घटनास्थलमै छाडेर फरार भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

पीडित राजपुतलाई तत्काल उपचारका लागि ललितपुरस्थित बि.एण्ड.बि. अस्पताल पठाइएको थियो। उपचारकै क्रममा वि.सं. २०६२ साल मंसिर २६ गते चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। त्यस समयदेखि फरार रहेका यादव आफ्नै घर ठेगानामा लुकिछिपी बसिरहेको अवस्थामा फेला परेका हुन्।

प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ। निज विरुद्ध सवारी ज्यान सम्बन्धी कसूरमा थप कानुनी अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।