बाराको प्रसौनी गाउँपालिकाका विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षाको नयाँ ढोका खुलेको छ। छिमेकी मित्रराष्ट्र भारतको आर्थिक सहयोगमा श्री बेङ्गा साह माध्यमिक विद्यालयमा नयाँ शैक्षिक पूर्वाधार निर्माणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
यस परियोजनाको शिलान्यास वीरगञ्जस्थित भारतीय महावाणिज्य दूत देवी सहाय मीना र प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले संयुक्त रूपमा गर्नुभयो। भारत सरकारको ३ करोड ३२ लाख नेपाली रुपैयाँ (३३.२ मिलियन) अनुदान सहयोगमा यो निर्माण कार्य अघि बढाइएको हो।
नयाँ संरचना अन्तर्गत दुईवटा तीन तले पक्की भवनहरू निर्माण हुनेछन्। जसमा आधुनिक कक्षाकोठाहरूका साथै फर्निचर, पुस्तकालय, कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको व्यवस्था रहनेछ। विद्यार्थीहरूको सुविधाका लागि क्यान्टिन र भान्साको समेत निर्माण गरिने महावाणिज्य दूतावासले जनाएको छ।
उच्च प्रभाव सामुदायिक विकास आयोजना (HICDP) अन्तर्गत सञ्चालित यो योजनालाई प्रसौनी गाउँपालिकाले कार्यान्वयन गर्नेछ। स्थानीय सरोकारवालाहरूले यस सहयोगले बालबालिकाहरूका लागि सुरक्षित र प्रभावकारी सिकाइ वातावरण सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल र भारतबीचको बलियो विकास साझेदारीलाई यस परियोजनाले थप उचाइ दिएको छ। विशेष गरी तल्लो तहका समुदायमा प्रत्यक्ष प्रभाव पार्ने यस्ता पूर्वाधारले नेपालको समग्र विकास लक्ष्यमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।