काठमाडौं / फरिदावाद — विश्व प्रसिद्ध आध्यात्मिक गुरु माता अमृतानन्दमयी देवी (अम्मा) द्वारा स्थापित अमृता विश्व विद्यापीठम्ले भारतको फरिदावाद (दिल्ली NCR) स्थित क्याम्पसमा सातौँ विश्व पहिरो फोरम (WLF7) आयोजना गर्ने भएको छ। International Consortium on Landslides (ICL) को सहकार्यमा आगामी २३ देखि २७ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने यो सम्मेलन विश्वकै सबैभन्दा ठूलो पहिरो-सम्बन्धी महासम्मेलन हो।

यस पटकको सम्मेलनको मुख्य नारा "सुरक्षित र लचिलो समुदायका लागि पहिरो विज्ञान र व्यवहार" (Landslide Science and Practice for Safe and Resilient Communities) रहेको छ। यसअघि टोकियो (२००८), रोम (२०११), बेइजिङ (२०१४), ल्युब्लियाना (२०१७), क्योटो (२०२१) र फ्लोरेन्स (२०२३) मा आयोजना भइसकेको यो फोरम आयोजना गर्ने भारत पाँचौँ देश बनेको छ। सम्मेलनमा ७५ देशका १९०० भन्दा बढी लेखक, ७६० संस्थाका ७०० भन्दा बढी वैज्ञानिक शोधपत्र प्रस्तुत हुनेछन् भने १२८० भन्दा बढी विदेशी पाहुना सहभागी हुने अपेक्षा छ।

पाँच दिने कार्यक्रम र प्राविधिक सत्रहरू

मुख्य फोरम सुरु हुनुअघि २२ नोभेम्बरमा पहिरो व्यवस्थापनमा आर्टिफिसियल इन्टेलिजेन्स (AI), Sentinel-1 र NISAR स्याटेलाइटमा आधारित अनुगमन, InSAR, Digital Twins तथा Geospatial Modelling सम्बन्धी कार्यशाला आयोजना गरिनेछ।

त्यस्तै २३ देखि २७ नोभेम्बरसम्म आयोजना हुने मुख्य सत्रहरूमा पहिरो र समाजको सांस्कृतिक, शैक्षिक तथा नीतिगत पक्ष, पहिरो पूर्व-सूचना प्रणाली (Early Warning Systems), पहिरो डाटा संकलन तथा मानकीकरणका साथै जोखिम नक्सांकन र वास्तविक समयको अनुगमनबारे व्यापक छलफल हुनेछ। यो फोरम Kyoto Landslide Commitment 2020 (KLC2020), Sendai Framework र UN Sustainable Development Goals मा आधारित छ।

नेपालका लागि महत्व र सहभागिता प्रक्रिया

प्रत्येक मनसुनमा पहिरोबाट ठूलो जनधनको क्षति व्यहोर्दै आएको नेपालका लागि यो फोरम विशेष महत्त्वपूर्ण मानिएको छ। अमृता विश्वविद्यालयको अनुसन्धान अनुसार IoT सेन्सर र AI को प्रयोगबाट पहिरो आउनुभन्दा २४ घण्टा अगावै पूर्व-सूचना दिन सकिन्छ। अमृताले सन् २००६ देखि केरलाको मुन्नार र सिक्किममा ७० भन्दा बढी पहिरो स्थलमा ३०० भन्दा बढी सेन्सर जडान गरी अनुसन्धान गर्दै आएको छ।

अमृताकी प्रो भाइस चान्सलर डा. मनीषा वी. रमेशले भन्नुभयो, “पहिरो विज्ञानको हरेक प्रगतिले अन्ततः एउटा जीवन, एउटा घर वा जीविकोपार्जनलाई बचाउनुपर्छ।” अमृताको यो कार्यक्रम लगातार तीन पटक (२०१७-२०२६) World Center of Excellence on Landslide Disaster Reduction का रूपमा सम्मानित भइसकेको छ।

नेपाल सार्क (SAARC) राष्ट्र भएकाले नेपाली सहभागीका लागि १५ नोभेम्बर २०२६ सम्म अर्ली बर्ड शुल्क १५० अमेरिकी डलर (लगभग रु. १४,२५०) र १८ प्रतिशत GST तोकिएको छ। दर्ता तथा कार्यपत्र पेश गर्न आधिकारिक वेबसाइट www.wlf7.org मा रहेको myWLF7 Portal मार्फत आवेदन दिन सकिनेछ। स्वीकृत कार्यपत्र भएका विद्यार्थीका लागि २०० वटा छात्रवृत्ति र ५ वा सोभन्दा बढी कार्यपत्र पठाउने संस्थालाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।