पाकिस्तानको बलोचिस्तानमा न्यायपालिकाले जनविश्वास पूर्ण रूपमा गुमाइसकेको दाबी गर्दै कारगारमा रहेकी राजनीतिक नेतृ डा. महरङ्ग बलोचले गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

'द बलोचिस्तान पोस्ट' ले सेप्टेम्बर १२ मा सार्वजनिक गरेको जेल बयानमा बलोच युनिटी कमिटी (बीवाईसी) की प्रमुख बलोचले सम्बन्धित न्यायाधीशहरूले नै आफूहरूमाथि सजाय सुनाउन माथिल्लो स्तरबाट दबाब रहेको स्वीकार गरेको खुलासा गरिन्। सुनुवाइ गरिरहेका न्यायाधीशहरू मोहम्मद अली मुबीन र कादिर शाह बुखारीले आफूहरू स्वतन्त्र नरहेको संकेत गरेको उनको भनाइ छ।

बलोचका अनुसार सेप्टेम्बर ७ मा वकिलहरूको हडताल र प्रतिरक्षा पक्षको अनुपस्थितिका बीच पनि गुलजादी बलोचको मुद्दामा साक्षीहरूसँग सोधपुछ गरिएको थियो। साथै, अभियुक्तको स्वीकृति बिना नै सरकारी वकिलहरूलाई विशेष अधिकार दिएर इस्लामाबाद लगिएको र आफूहरूलाई प्रतिरक्षाको अधिकारबाट वञ्चित पारिएको उनले उल्लेख गरेकी छन्।

मुख्य न्यायाधीश कामरान मलाखिलले विगत ६ महिनादेखि जमानत याचिकाको सुनुवाइ गर्नुको सट्टा मुद्दालाई सूचीबाट हटाउँदै आएको आरोप पनि उनले लगाएकी छन्। यस किसिमको 'फेसलेस ट्रायल' को विरोध गर्दै बीवाईसीले १३ जुनदेखि २० वटा मुद्दा बहिष्कार गरिसकेको छ।

आजीवन कारावासको सजाय भोगिरहेकी डा. महरङ्गले आगामी अक्टोबरका लागि तय भएको आफ्नो पुनरावेदन सुनुवाइअघि पाकिस्तानको सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूसँग तत्काल हस्तक्षेपको माग गरेकी छन्।