खोटाङको विकट गाउँदेखि भारतमा ३ करोड ग्राहकको साम्राज्य खडा गर्दासम्म: दीपेश कार्कीको जीवन बदल्ने त्यो एउटा छात्रवृत्ति!
खोटाङको विकट गाउँमा जन्मिएका दीपेश कार्कीले आज भारतको वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा एउटा ठुलो साम्राज्य खडा गरेका छन्। नेपालस्थित भारतीय दूतावाससँग आफ्ना संघर्ष र सफलताका अनुभवहरू साट्दै उनले आफू भारतको अग्रणी ‘पियर–टु–पियर’ ऋण लगानी गर्ने प्रविधि मञ्च ‘लेन्देनक्लब’ (LenDenClub) को सहसंस्थापक बन्न सफल भएको विवरण सार्वजनिक गरेका हुन्। हाल उनको यो कम्पनीले ३ करोडभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ, जुन कुनै समय एउटा दुर्गम गाउँको रैथानेका लागि सपनाभन्दा बाहिरको कुरा थियो।

खोटाङको हौचुरस्थित एउटा सामान्य शिक्षक परिवारमा जन्मिएका दीपेशको बाल्यकाल संघर्षपूर्ण थियो। बुवाआमा दुवै शिक्षक भए पनि परिवारको गर्जो टार्न र छोराहरूलाई पढाउन उनीहरूले खेतीपातीसमेत गर्नुपथ्र्यो। सानैदेखि ग्याजेट र मेसिनहरूमा रुचि राख्ने दीपेश पाइलट वा एरोनटिकल इन्जिनियर बन्न चाहन्थे, तर पारिवारिक आर्थिक अवस्था बाधक बन्यो। उनको जीवनमा सन् २००७–०८ मा कम्पेक्स (COMPEX) छात्रवृत्ति प्राप्त गरेपछि ठुलो परिवर्तन आयो। उक्त कठिन परीक्षामा २०औँ स्थान हासिल गर्दै उनले भारतको प्रतिष्ठित नेसनल इन्स्टीट्युट अफ टेक्नोलोजी (NIT) कुरुक्षेत्रमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढ्ने पूर्ण छात्रवृत्ति पाए।

एनआईटी कुरुक्षेत्रको प्राज्ञिक वातावरण, उन्नत प्रयोगशाला र कलेजका विभिन्न गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा सिकेको सीपले दीपेशलाई उद्यमी बन्ने जग हालिदियो। कलेज सकेपछि उनले सुरुमा ‘पाइपआइसो’ नामक इन्जिनियरिङ सफ्टवेयर कम्पनी खोले, जहाँ उनले प्रविधि बनाउनुभन्दा बजारमा त्यसलाई बेच्न धेरै गाह्रो हुने व्यावहारिक पाठ सिके। तर, उनले हिम्मत हारेनन् र मुम्बईमा आफ्ना व्यावसायिक साझेदार भाविन पटेलसँग मिलेर ‘लेन्देनक्लब’ को सुरुवात गरे।

अचम्मको कुरा त के छ भने, आज करोडौँको डिजिटल कारोबार गर्ने ‘लेन्देनक्लब’ स्थापनाको प्रेरणा दीपेशले आफ्नै गाउँ खोटाङबाट पाएका थिए। उनको पुर्ख्यौली गाउँमा बैंक नहुँदा मानिसहरू सरसापट, उपचार र खेतीपातीका लागि आपसी विश्वास र समुदायको भरमा लेनदेन गर्थे। सम्बन्ध र विश्वासका आधारमा हुने त्यही परम्परागत नेपाली गाउँले अवधारणालाई उनले आधुनिक प्रविधिको प्रयोग गरेर डिजिटल वित्तीय मञ्चमा रूपान्तरण गरिदिए, जसलाई भारतमा निकै रुचाइयो।

भारत सरकारको डिजिटल पहिचान प्रणाली, वित्तीय समावेशीकरण र भारतीय रिजर्भ बैंक (RBI) को प्रगतिशील नीतिले उनको कम्पनीलाई हुर्काउन महत्त्वपूर्ण भूमिका खेल्यो। जटिल समस्याहरूलाई ससाना खण्डमा विभाजन गरी समाधान खोज्नु नै सफलताको रहस्य ठान्ने कार्की अहिले नेपाल–भारत प्राविधिक सहकार्यमा लागिपरेका छन्। नेपाललाई केवल सगरमाथा र बुद्धको देश मात्र नभएर विश्वस्तरीय उद्यमी र अनुसन्धानकर्ता उत्पादन गर्ने मुलुकका रूपमा चिनाउनुपर्ने उनको दृढ विश्वास छ।